आज सवारी दुर्घटनामा ४ को मृत्यु, खोलामा बगेका २ को उद्धार

आज सवारी दुर्घटनामा ४ को मृत्यु, खोलामा बगेका २ को उद्धार

पाँचथर, कास्की र चितवनमा भएका सवारी दुर्घटनामा ज्यान चार जनाले आज ज्यान गुमाएका छन् ।

पाँचथरको हिलिहाङ गाउँपालिका–७ टारीमा भएको प्रदेश १–०१–००१ च ७६९१ नम्बरको गाडी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा गाडी चालक ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका–२ चम्बुका ३२ वर्षीय मिलन श्रेष्ठ र गाडीमा सवार सोही ठाउँकी २५ वर्षीया सीता अधिकारी रहेका छन् ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका–१८ मेथलाङमा ग.१ क ३१८७ नम्बरको सिमेन्ट घोल्ने मिक्सचर नालीमा पल्टिदाँ मिक्सचरका सहचालक सोही महानरगपालिका–१४ चाउथे बस्ने २९ वर्षीय अनिरोध थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मिक्सचर चालकको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।
चितवनको कालिका नगरपालिका–९, सुनखानीस्थित भित्री सडकमा ना.३६ प २१९९ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खस्दा मोटरसाइकलमा सवार इच्छाकामना गाउँपालिका–२ का ६० वर्षीया हस्तमाया मगरको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ का ३५ वर्षका फत्तेबहादुर मगरको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

त्यस्तै पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनाको आज उद्धार गरिएको छ । जाजरकोटको भेरी नगरपालिका–१ रावतगाँउस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको आज दिउँसो प्रहरीले उद्धार गरेको हो ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका–१२ दुरनेटाका १७ वर्षीय रामबहादुर डाँगीसहित तीन जना भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । त्यसमध्ये दुई जनालाई घाइते अवस्थामा उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल पठाएको थियो ।

उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । बेपत्ता भएका एक जनाको भने प्रहरीले खोजी गरिरहेको छ ।

टिप्पणीहरू