विश्वासको मत पाउनुअघि सुदूरपश्चिमका मुख्यमन्त्रीले के भनेका थिए ? (भिडियो सहित)

विश्वासको मत पाउनुअघि सुदूरपश्चिमका मुख्यमन्त्रीले के भनेका थिए ?  (भिडियो सहित)

सुदूर पश्चिम प्रदेशसभाबाट विश्वासको मत माग्दा आज दिउँसो मुख्यमन्त्री त्रिलोचन भट्टले स्थीर सरकारका लागि काम गर्ने प्रतिवध्दता ब्यक्त गर्दै यसक्रममा भएका गल्तीलाई नियतको रुपमा नसम्झन आग्रह गर्नुभएको थियो । उहाँले सुदूरपश्चिमको विकासका लागि दलहरु एक भएर अघि बढ्ने आवश्यक्ता रहेको पनि औंल्याउनु भयो ।

उहाँलाई एमाले प्रमुख सचेतक दुर्गाकुमारी बिक र नेकपा माओवादीका प्रमुख सचेतक अक्कल रावलले समर्थन गर्ने बताउनुभएको थियो । काँग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नपुग्ने अवस्थामा मात्र मतदान गर्ने निर्णय थियो ।

सत्ता साझेदार नेकपा (एमाले) को स्थायी समितिले समर्थन फिर्ता लिएको र प्रदेश संसदीय दलले समर्थन कायम गरेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय गर्नुभएको हो ।

उहाँले सो क्रममा ३० मत पाउनु भएको छ भने विपक्षमा नौ मत परेको छ । पक्षमा उहाँकै दल नेकपा माओवादी केन्द्रका १३ र एमालेको १७ मत परेको हो । नेपाली काँग्रेसका १२ जना सांसद भने तटस्थ बसेका थिए ।

भट्टलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सात र राजपाका दुई जनाले मत दिएनन् । हाल ५२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित २५ जना सदस्य छन् ।
तीन वर्षअघि एमाले र माओवादीका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको थियो ।

यसअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीनिकट प्रदेशसभा सदस्य र प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अल्पमतमा परेकोले राजीनामा गर्नुपर्ने माग उठाएपछि उहाँले विश्वासको मत लिनुभएको हो ।

५३ सदस्यीय प्रदेश सभामा एमाले प्रवेश गरेका कारण कारबाहीमा परेर माओवादीका एक जना रिक्त भएपछि उक्त संख्या ५२ कायम भएको हो ।

यसअघि अध्यक्ष ओलीको अध्यक्षतामा बसेको एमाले स्थायी समिति बैठकले मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
तर संसदीय दलका नेता प्रकाशबहादुर शाहले आफू मन्त्रीमा कायम रहँदै थप छ जनालाई सरकारमा सामेल गराउनुभयो ।

यसैबीच केन्द्रीय सदस्यसमेत रहनु भएका एमाले संसदीय दलका नेता शाहलाई अध्यक्ष ओलीले स्पष्टीकरण सोध्नुभएको र शाहले पनि त्यसको जवाफ पठाइसक्नु भएको बताइएको छ ।

 

टिप्पणीहरू