सशस्त्रमा तलकाहरु च्यापिएको बिलौना

सशस्त्रमा तलकाहरु च्यापिएको बिलौना

देशको सीमा सुरक्षाको मुख्य जिम्मा पाएको सशस्त्र प्रहरी बललाई अत्याधुनिक हातहतियारसहित स्रोत साधनयुक्त बनाउनु जति आवश्यक हुन्छ उसको वृत्ति विकास र सांगठनिक व्यवस्थापनको पाटो झन् महत्वपूर्ण हुन्छ । देशकै सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरी आन्तरिक रुपमा भने अस्तव्यस्त रहेको बताइन्छ ।

सांगठनिक अस्तव्यस्तताकै कारण सशस्त्र बल गतिहीन बनेको प्रहरी अधिकारीहरु स्वीकार गर्छन् । नीतिगत समस्याका कारण सांगठनिक अन्योलता बढेको उनीहरुको भनाइ छ । नयाँ दरबन्दी सृजना नहुँदा तथा नियमित बढुवामा ब्रेक लाग्दा सिंगो प्रहरी संगठन दयनीय अवस्थामा पुगेको सशस्त्रमा चर्चा चलेको छ । संगठनको समग्र हितको लागि भन्दा पनि निजी बढुवाका लागि दौडधुप गर्ने प्रवृत्ति बढेकाले प्रहरी संगठन लथालिङ्ग अवस्थामा पुगेको बताइन्छ ।

सशस्त्रमा भर्ना थप्ने तर दर्जा नबढाउने हुँदा प्रहरी कर्मचारीहरुको वृत्ति विकासमा बाधा पुगेको गुनासो पटक-पटक सुनिँदै आएको छ । ११ वर्षदेखि सिपाहीमा थन्किएका र १७ वर्षसम्म इन्स्पेक्टरमा रोकिएकाको संख्या सशस्त्रमा प्रशस्तै रहेको चर्चा पनि छ ।
सशस्त्रमा भन्दा तुलनात्मक हिसाबले नेपाल प्रहरीमा वृत्ति विकासको व्यवस्थापन राम्रो देखिएको एक अधिकारीले बताए । ‘हाम्रोमा ६१/६२ को इन्स्पेक्टर अझै डिएसपी भएको छैन, नेपाल प्रहरीको ६६ को डिएसपी भैसक्यो ।’

सशस्त्रमा दरबन्दी नबढाउँदा इन्स्पेक्टरमा भर्ना भएकाहरुले डिएसपीबाटै अवकास लिनुपर्ने अवस्था रहेको बताइन्छ । अहिलेको अवस्था रहिरहे असइमा भर्ना भएकोलाई इन्स्पेक्टर भन्दा माथि जान ठाउँ नहुने जानकारहरु बताउँछन् । एउटा सिपाहीले सहायक हवल्दार नबनी नै अवकास हुनुपर्ने अवस्था छ ।

उपल्लो दर्जामा दरबन्दी सृजना नहुँदा तल्ला तहका प्रहरी कर्मचारीको अपग्रेड हुन नसकेको सशस्त्रका एक अधिकारीले बताए । ‘माथिको प्रमोशन रोकिंदा तल डिएसपी, एसपीको नबढ्ने भयो । १६ वर्षको डिएसपी डिएसपीमै छ । सिपाहीमा भर्ना भएको कर्मचारी सिपाहीबाटै अवकास हुनुपर्ने अवस्था देखिंदैछ’,ती अधिकारीले भने ।

संगठनलाई आर्थिक भार नपर्ने गरी दरबन्दी मिलान गर्नुपर्ने उनको सुझाव छ । अप्ठेरो अवस्थामा पनि खटिने तल्ला तहका प्रहरीलाई उत्साहित बनाउनसके मात्र प्रहरीको साख जोगिने उनले बताए । ‘तल्ला तहका सिपाही पनि सहायक हवल्दार हुँदै असईसम्म जानसक्छ । त्यसका लागि माथिबाटै बाटो खोल्नुपर्छ’,भने, ‘प्रहरीले गर्ने कामको प्रभाव समाज र सिंगो मुलुकमा पर्ने हुँदा कालान्तरमा सिङ्गॊ संगठन र यसले दिने सेवा सुविधा नागरिकले नै प्रत्यक्ष-अप्रत्यक्ष रुपमा लिने हो ।’

त्यसैले आजकल सशस्त्र प्रहरीहरु ‘न त्रास र न आश’ मा रहेको बताउने गरेका छन् । ‘न बढुवा हुने आश,न कारवाही होला कि भन्ने त्रास’, यस्तो अवस्था बनिसकेको छ हाम्रोमा’,एक प्रहरीले भने ।

टिप्पणीहरू