राउटे युवतीमाथि करणी गरेको स्वीकार

राउटे युवतीमाथि करणी गरेको स्वीकार

सुर्खेतमा दुई जना राउटे युवतीलाई होटलमा लगेर जबर्जस्ती गरी भिडियो खिचेका युवाहरुले प्रहरी बयानमा ‘आफूहरुले सबै काम गरेको’ भनेर स्वीकारेका छन् । राउटे समुदायले बाहिरी समाजसँगको उठबसलाई राम्रो ठान्दैन । ती युवतीसँग सुर्खेतका युवाहरुको लसपस थाहा पाए समुदायभित्रैबाट लास गायव हुने खतरा छ । यसर्थ अहिले कर्णाली प्रदेश सरकारले उक्त समुदायको विशेष निगरानीको लागि वस्ती वरिपरि २२ जना सशस्त्र र नेपाल प्रहरी परिचालनसङ्गै सुरक्षा गस्ती बढाइएको छ ।

गुर्भाकोट नगरपालिका ११, आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका लोपोन्मुख राउटे समुदायको सुरक्षा र अन्य व्यवस्थापनको लागि कर्णाली प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गत एउटा कमिटी गठन गरेको बताएको छ । मन्त्रालय स्रोतका अनुसार प्रारम्भिक अवस्थामा युवतीहरुको सुरक्षा व्यवस्था मिलाइएको छ । तत्काल राउटे समुदायसम्म वाह्य समुदायका मानिस पुग्न र उनीहरुलाई ‘डिस्टर्ब’ नगर्न आवश्यक प्रबन्ध मिलाइएको छ ।

निकै पिछडिएको उक्त समाजमा आफ्नो समुदायभन्दा बाहिरका परपुरुषसँग लागेको थाहा पाएमा युवतीहरुको जीवन नै जोखिममा पर्ने भएकाले प्रशासनले विशेष सतर्कता अपनाएको बताइन्छ ।

मुखियाहरुको आँखा छलेर अब युवतीहरुको स्वास्थ्य र शारिरिक परीक्षण गर्नुपर्ने अवस्था छ । राउटे समुदायलाई युुवतीहरुमाथि भएको दुर्व्यवहारबारे कुनै जानकारी नहुने तवरले आवश्यक प्रक्रिया अपनाएको छ । सहजीकरणको लागि मन्त्रालयको एउटा टोली अहिले उक्त क्षेत्रमा कार्यरत छ ।

शारिरिक शोषणमा परेका राउटे युवतीहरु समुदायभित्रै छन् । उक्त घटनाबारे समुदाय हालसम्म अनभिज्ञ रहेको बताइन्छ । उनीहरुको सबैभन्दा ठूलो मान्छे मुखिया हुन् । उनलाई समेत जानकारी नभएकाले त्यहाँभित्र केही पनि नयाँ गतिविधि नभएको बताइन्छ ।

राउटे समुदायभित्र हुने हत्या,हिंसाबारे प्रशासनले समेत कुनै अनुसन्धान गर्न नसक्ने भएकाले प्रशासन सचेत हुँदै सुरक्षाकर्मी परिचालन गरिएको बताइन्छ ।

टिप्पणीहरू