खतिवडा राजदूत कि विशेष दूत ?

खतिवडा राजदूत कि विशेष दूत ?

डा.युवराज खतिवडा हिजो जति ठूलो ओहोदामा भए पनि आजको पद अमेरिकाको लागि नेपाली राजदूतकाे हैसियत मात्रै हो । मन्त्रीस्तरीय भने पनि, सहसचिवस्तरीय भए पनि त्यो पद केवल राजदूतको मात्रै हो । तर, हालै उहाँले सरकारी समाचार संस्था राससलाई दिनुभएको अन्तर्वार्ता र त्यसमा अभिव्यक्त धारणाले खतिवडा राजदूत हो कि विशेष दूत खुट्ट्याउन गाह्रो भएको कूटनैतिक क्षेत्रमा चर्चा छ ।

गत भदौसम्म उहाँ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री हुनुहुन्थ्यो । त्यसपछि राजदूत नियुक्त हुनु अघिसम्म प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार रहनुभयो । मन्त्रीअघि राष्ट्र बैंकको गभर्नर र त्यसअघि वरियतामा राज्यमन्त्री सरह योजना आयोग उपाध्यक्ष हुनुहुन्थ्यो ।

औपचारिक वार्ता भएको भए तस्वीरसमेत औपचारिक स्थानकै र औपचारिक नै हुनुपर्थ्यो ।

जेठ दोस्रो साता राससलाई दिइएको अन्तर्वार्तामा खतिवडाले विवादास्पद अमेरिकी सहयोग परियोजना एमसीसीको सन्दर्भमा ‘नेपाली राजनीतिक दलका नेताहरुले भेटमा एउटा र व्यवहारमा अर्को कुरा गर्नेजस्तो द्वैध चरित्र देखाएको’ उल्लेख गर्नुभएको छ । मुलुकको एउटा राजदूतले राजनीतिक दलका नेताको आलोचना गर्ने नैतिकता कुन कूटनीतिक सिध्दान्तभित्र पर्छ ? हिजो मन्त्री हुँदा उहाँले त्यो आलोचना गर्ने छुट पाउनुभएको सन्दर्भ राजनीतिक हैसियतका कारणले हो । आज उहाँ नेपालको एउटा कर्मचारी मात्र भएको अवस्थालाई चटक्कै बिर्सेर त्यसो भन्न नसुहाउने अमेरिकाका लागि एक जना पूर्वराजदूतले बताउनुभएको छ ।

उहाँले नेपालमा संसद विघटन गरिएको अवस्था,त्यसको विरुद्ध सर्वोच्च अदालतमा विपक्षी गठबन्धनका नेता तथा सांसदलगायत कानुन व्यवसायीहरुले रिट निवेदन हालेको वास्तविकता रहेको सन्दर्भमा एमसीसीलाई संसद नरहेको अवस्थामा वैकल्पिक उपायद्वारा अनुमोदन गराउने प्रक्रियामा जाने बताउनुभएको छ ।

मुलुकका विधायकहरुले अपनाएको पछिल्लो राजनीतिक गतिविधिको बारेमा बोल्ने छुट सर्वसाधारण नागरिकलाई मात्र हुन्छ । सरकारी तनखा खाएर मुलुकको प्रतिनिधित्व गर्दै राजदूतको जिम्मेवारीमा रहेका व्यक्तिलाई यो वा त्यो राजनीतिको समर्थन र बिरोध गर्ने छुट व्यक्तिगत र अनौपचारिक तवरमा होला । औपचारिक रुपमा विश्वका कुनै पनि मुलुकले दिएको हुँदैन ।

त्यहि सन्दर्भमा राजदूत खतिवडाले अमेरिकाको वासिङगटन डिसीमा एमसीसी डिपार्टमेण्ट आफ कम्प्याक्ट अपरेशनकी उपाध्यक्ष फतिमा सुमर र अर्का उपाध्यक्ष जोनाथनसँग छलफल गरेको बताउनुभएको छ । तर उक्त भेटबारे दूतावासको वेभसाइटमा राखिएको तस्वीरले राजदूतले उनीहरुसँग औपचारिक भेटवार्ता गरेको पुष्टि गर्दैन । औपचारिक वार्ता भएको भए तस्वीरसमेत औपचारिक स्थानकै र औपचारिक नै हुनुपर्थ्यो । खतिवडा आफैँले फतिमासँग कुनै सवारी साधन पार्किङस्थलमा सेल्फी लिएको प्रष्ट हुन्छ ।

अन्तरवार्तामा राजदूतले अमेरिकाबाट महामारीमा नेपाल पठाइएका स्वास्थ्य सामाग्रीबारे आफूले प्रधानमन्त्रीसँग ‘छलफल’ गरेको उल्लेख गर्दै एक तीर दुई शिकार गर्नुभएको देखिन्छ । पहिलो आफ्नो प्रधानमन्त्रीभन्दा मुनिका परराष्ट्रमन्त्री,सचिव वा उत्तरअमेरिका महाशाखा हेर्ने सहसचिवसँग कुनै सम्पर्क नहुने ‘म्यासेज’ दिइएको हो । दोस्रो अरु मुलुकमा रहेका राजदूतले प्रधानमन्त्री ओलीलाई जानकारी वा अवगत गराउँछन् भने आफूले त ‘फोनमा छलफल नै गर्ने गरेको’ भाषागत हैसियतको सन्देश दिइएको मन्त्रालय स्रोतले बताएको छ ।

टिप्पणीहरू