विभाजनले कसलाई पो बलियो बनाएको छ र ! « janaaastha.com
५ असार २०७८, शनिबार

विभाजनले कसलाई पो बलियो बनाएको छ र !



-केशव थापा

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेचिला र खँदिला शब्दहरूले भरिएको लामो पृष्ठभूमिसहित नेकपा एकताको निमित्त भनी ६ बुँदे आह्वान–पत्र सार्वजनिक गर्नुभएको छ । कानुनकोे राम्रो ज्ञान भएको र शब्द खिपिखिपी गह्रुङ्गो बनाउनसक्ने शिल्पीले यो आह्वान—पत्र मस्यौदा गरेको हो भनी सहजै अनुमान लगाउन सकिन्छ । जे भए पनि पार्टी एकताको लागि यो पत्र कोशेढुंगा बन्न सके त्यो नै लाख हुन्थ्यो ।

हजारौं योध्दाको पसिना,त्याग र बलिदानको स्मरण गरिएको आह्वान–पत्रले नेकपा एमालेप्रति नेपाली जनताको अपार विश्वासको पनि सम्झना गरेको छ । यसलाई सुदृढ गर्दा नेपालको कम्युनिष्ट आन्दोलन बलियो हुने सत्यलाई दर्शाउन खोजिएको छ ।

पत्रमा उल्लिखित व्यहोराहरूले नेकपा एमाले निश्चित व्यक्ति, समूहको मात्र क्लब नभएर अभियानमा लामो समयदेखि संलग्न नेता,कार्यकर्ता,समर्थक, शुभेच्छुक सबैको साझा थलो, गौरवको धरोहर हो भन्ने पनि स्पष्ट पारेको छ । यस आधारमा पुलपुलिएर कसैले यो मेरो/हाम्रो मात्र पार्टी हो,उसको होइन वा कसैले आशंका वा लघुताभाषकासाथ यो उसको मात्र बिर्ता हो र मेरो हकभोक लाग्ने होइन भनी हीनताबोध गर्नुपर्ने देखिँदैन ।

आह्वान–पत्रले पार्टीमा समस्या र जटिलता रहेको तथ्य स्वीकारेको छ । तर,यसका कारण र कारकहरूबारे केही उल्लेख छैन ।

आह्वान–पत्रले पार्टीमा समस्या र जटिलता रहेको तथ्य स्वीकारेको छ । तर,यसका कारण र कारकहरूबारे केही उल्लेख छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाहेक अन्य कसैको नामनामेसी उल्लेख गरिएको छैन । यसबाट अनुमान लगाउन सकिन्छ कि पार्टी अध्यक्ष विगतको नराम्रा विषयलाई उछालेर भविष्यको सुखदयात्रामा तगारो हाल्न चाहनुहुन्न । गल्ती,कमजोरीको लागि अर्काे पक्षपट्टी मात्र औंला उठाउन यो पटक उहाँको आत्माले मानेको छैन ।

बुँदा नं. ४ ले नेकपा एमालेका निवर्तमान सांसदहरूको सम्मानित सर्वाेच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयुक्त हस्ताक्षर फिर्ता हुनुपर्ने धारणा उल्लेख गरे तापनि त्यस्तो अवस्था कसरी आयो र त्यस अवस्थालाई के–कसरी सम्बोधन गर्ने भन्ने विषयमा भने केही बताएको छैन । सायद, वार्ताको क्रममा यो र यस्तै अन्य विषयहरूको पनि उचित निरुपण होला नै !

एकतापछिको ‘नेकपा’ बन्ने क्रमसँगै एकपछि अर्काे जटिलता थपिदै जाँदा पनि कसैको कुरो नसुनी अररो बनेर रहनुभएको पार्टी अध्यक्षबाट हस्ताक्षरसहित पार्टी एकताको आह्वान हुनु ज्यादै सकारात्मक कदम हो । एकताका हिमायतीहरूले यो अवसरलाई अधिकतम सदुपयोग गरी पार्टीलाई साविककै झैँ एकढिक्का बनाउने प्रयत्न गर्नुपर्छ ।

कित्ताको आड लगाएर एकताको वातावरण बिगार्न सामाजिक सञ्जालमा जथाभावी लेख्ने ‘समर्थकहरू’ को गतिविधिमा दुवैतर्फबाट तत्काल रोक लगाउनुपर्छ ।

शंका–उपशंकामा बेरिएर यो महत्वपूर्ण अवसरलाई खेर फाल्नुहुन्न । पार्टी एक भयो भने इतिहासले स्वयम अध्यक्ष, वरिष्ठ नेताहरू र यसका लागि पहल गर्ने नेताहरूलाई नै नायक/सहनायकको रुपमा वरण गर्ने हो । अवसरलाई यो वा त्यो बहानामा खेर फाल्ने हो नेपालको कम्युनिष्ट आन्दोलन सितिमिति बौरिन नसक्ने गरी थला त पर्छ नै नायक हुनुपर्ने पात्रहरू खलनायकरुपमा अभिलेखित हुने तथ्य पनि निश्चित छ । नायकी रोज्ने कि खलनायकी अब त्यो नेताहरूले नै जान्ने विषय हो ।

पार्टी एकता सम्बद्ध अर्काे पक्षले भूतकालीन मान्यताबाट प्रेरित भएर पार्टी अध्यक्षले यो पछिल्लो आह्वानलाई अलमल्याउने, कमजोर बनाउने दाउपेचको अर्काे कडीको रुपमा प्रचारप्रसार गरी विभाजनलाई प्रश्रय दिने गल्ती गर्नुहुन्न । पार्टी सशक्त र एकढिक्का हुँदा भावी दिनमा यसले हासिल गर्नसक्ने उपलब्धिलाई आधार मानेर केही अस्पष्ट,धमिलो र साँघुरो नै भए पनि अध्यक्ष अघि आउनु भनेको गोरेटोमा साहसका साथ पाइला अगाडि बढाउनै पर्छ । अन्यथा, पार्टी टुक्र्ययाउने अपजस उहाँहरूको थाप्लोमा सर्नेछ ।

अध्यक्षको आह्वानलाई व्यवहारमा परख नै नगरी आग्रहप्रेरित भएर हतारमा पहिले नै धारणा बनाउने भूल गर्नुहुन्न । उहाँहरू इमान्दारीपूर्वक एकताको महाअभियानमा सरिक हुँदाहुँदै पनि अध्यक्ष स्वयंले वा खेतालाले छिर्के हान्ने धृष्टता गरे भने असली नियत पुनः लोकसामु छर्लंग हुने नै छ । यसै सन्दर्भमा पार्टी अध्यक्षले पनि आह्वान–पत्रलाई साँचो अर्थमा व्यवहारमा कार्यान्वयन गर्न नेताहरूलाई प्रत्यक्ष संवादमार्फत वार्ताको वातावरण निर्माणको लागि चियापान,अनौपचारिक कुराकानीको निमित्त आह्वान गर्नु श्रेयष्कर हुन्छ ।

आखिर पार्टी विग्रहलाई रोकेर यसलाई साविकभन्दा कमजोर र सानो हुन नदिई अद्यावधिक राख्ने पहिलो कर्तव्य पार्टी अध्यक्षकै हो । भावी दिनमा हुने मूल्यांकन अहिलेको कामकै त हो नि ! एक हातले मात्र ताली नबज्ने भएकाले अर्काे पक्ष पनि यसका लागि त्यत्तिकै जागरुक र जिम्मेवार हुनु अत्यावश्यक हुन्छ । पार्टी एकताको कामलाई निर्विघ्न रूपले सम्पन्न गर्ने हो भने कित्ताको आड लगाएर एकताको वातावरण बिगार्न सामाजिक सञ्जालमा जथाभावी लेख्ने ‘समर्थकहरू’ को गतिविधिमा दुवैतर्फबाट तत्काल रोक लगाउनुपर्छ ।

तत्काल समाधानको लागि पहल गरेको भए उतिखेर नै हल हुने स–साना असमझदारी,अन्योल र अविश्वासको खात लाग्दै गएर नै पार्टी अहिले विभाजनको डिलमा पुगेको हो । उतिखेर जाबो झिल्को भनेर उपेक्षा गरिएकोले नै यो डढेलो बनेर सल्किएको हो । आफू बाहेक अरुको अहम् र स्वत्वलाई किञ्चित पनि महत्व नदिँदा यो बबाल खडा भएको हो । सम्मान दिएर मात्र पाइन्छ भन्ने तथ्य जानेर पनि व्यवहारमा लागू नगरेकोले अनपेक्षित अप्रिय अवस्था उत्पन्न भएको हो ।

शीर्षस्थ नेताहरूसँगको निकटता, उहाँहरूको पुच्छर समाउँदा सहजै खोलो तरिने तिर्सनाले कित्ताकाट गरेको जस्तो देखिए तापनि अन्य तहका नेताहरूबीच खासै मनोमालिन्य नभएको र पार्टी एकता हुँदा उनीहरू बेखुस पनि नहुने भएकाले शीर्षस्थ नेताहरू स्वयं अग्रसर भएर वार्ताको लागि जुटे एकताप्रयत्न शीघ्र सार्थक हुन सक्छ । रोगी स्वयम् उपस्थित नभई रोगको समाचार बोकेर जाने वाहकलाई उपचार गरेर रोग निको नहुने तथ्यलाई नेतृत्वले हेक्का राख्नै पर्छ ।

नेतृत्वको आपसी साक्षात्कार, भलाकुसारी,सस्नेह अभिवादनको साटासाटले मात्र पनि एकतिहाइ समस्या निम्टिन्छ भने देश,जनता र कम्युनिष्ट आन्दोलनप्रति इमान्दार भएर सहिदहरूलाई साक्षी राखी बिनाकपट खुलाहृदयले छलफलमा जुट्ने हो भने बाँकी समस्याहरू स्वतः नै समाधान हुनेमा विश्वस्त हुन सकिन्छ । अनेकानेक बहाना गरेर नेताहरूले क्षतविक्षत तुल्याउन आँट्नु भएको कम्युनिष्ट आन्दोलनरुपी रथ उहाँहरूले नै छिटो ठीकठाक पार्नुभयो भने हर्षाेल्लासकासाथ होष्टे र हैँसे गरेर लक्ष्यसम्म गुडाउन लाखौं कार्यकर्ता तम्तयार छन् ।

बस्,खाँचो रह्यो शीर्षस्थ नेताहरूको इमान्दार पहलको । आशा गरौं, कस्तै मानअपमान सहेर भएपनि नेकपा एमालेको नेतृत्वले २०५४ सालको घटनालाई पुनः दोहार्याउने धृष्टता गर्ने छैन । ‘विभाजनले बलियो बनाउँछ’ भन्ने बेतुकको अर्थ अघि सारेर कार्यकर्तालाई दुःखी बनाउने काम पनि अवश्य गर्ने छैन ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“जीरो ईरोर (डिफेक्ट्) सिण्ड्रोम” बाट ग्रसित नेपाली सेना
अन्तरिक्षबाट यस्तो देखियो नेपाल र हिमालय क्षेत्र (फाेटाे फिचर)
दलाए दलाए, अन्तिममा ढलाए
अष्ट्रेलियाको भन्दै सुर्खेतको बाँड्दै
Add

Scroll Up