नेपाल हो हजुर,यहाँ जे पनि हुन सक्छ, उपसचिवस्तरका सैनिक अधिकृतले चुनाव चलाउने

नेपाल हो हजुर,यहाँ जे पनि हुन सक्छ, उपसचिवस्तरका सैनिक अधिकृतले चुनाव चलाउने

भाग्यमा भएपछि डोकोमा दूध दुहे पनि चुहिँदैन भन्ने उखान यतिखेर प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाका आफन्तमा चरितार्थ भएको छ । त्यहि उखानलाई व्यवहारमा उतार्दै हालैमात्र एक जना सेवानिवृत्त लेफ्टिनेन्ट कर्णेलले संवैधानिक अंगको नियुक्ति भ्याइदिएका छन् ।

सामान्यतयाः सोही क्षेत्रको कार्य अनुभव भएका र उपल्लो तहबाट सेवानिवृत्त भएकाले पाउने अवसर नातामा दाजु पर्ने प्रधानन्यायाधीश संवैधानिक परिषदमा भएको फाइदा सानै तहका भएपनि एक जना भूपू कर्णेलले फुत्काएका हुन् । हालैको भागबण्डाबाट निर्वाचन आयुक्तमा नियुक्त सगुनसमशेर जङ्गबहादुर राणा (भैरहवा) त्यस्तै भाग्यमानी हुन् ।

राणाले लेफ्टिनेण्ट कर्णेलबाट अवकाश पाउनैलाग्दा न्यायालय प्रमुखको भनसुनमा सेना प्रमुखबाट एक महिना जति मानार्थ फुल कर्नेलमा बढुवा पाएका थिए । त्यो पनि तीन महिना मात्रै भएको छ । पहिले नयाँ गोरखगणका गणपति राणा सेवानिवृत्त हुँदा छाउनीस्थित सैनिक सङ्ग्रहालयमा थिए ।

यसबीच राजनीतिक खिचातानी भएको मौका छोपेर पेन्सन पट्टा पनि नबन्दै उनी निर्वाचन आयुक्तमा फुत्त नियुक्त हुन सफल भएका हुन् । उनीसङ्गै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाका भाइले पनि सोही बैठकबाट समावेशी आयोगमा नियुक्ति पाएका थिए । सम्माननीय प्रधानन्यायाधीश,सम्माननीय प्रधानमन्त्री र सम्माननीय अध्यक्षबीच भएको भागबण्डामा यी नियुक्ति अब सँसदीय सुनुवाइबिनै कार्यान्वयनको चरणमा छ ।

निर्वाचन गराउनुपर्ने दायित्व भएको पदमा सैनिक पृष्ठभूमिका अवकाशप्राप्त कनिष्ठ अधिकृतलाई नियुक्त गरिनुले सबैलाई अचम्मित बनाएको छ । सेनामा राणाको पदको हैसियत निजामतीमा उपसचिव सरह हो । तर,कुरो मिलेपछि त्यो तहकालाई पनि संवैधानिक आयोगको आयुक्तमा नियुक्त गर्न मिलेको देखिन्छ ।

यसअघि अर्थ मन्त्रालयका सहसचिव निर्मलहरि अधिकारीहरुलाई ‘सहसचिवले मिल्दैन’ भनेर अहिलेकै प्रधानमन्त्रीले निर्वाचन आयोगमा जानबाट रोक्नुभएको थियो । डेढ दशकअघि निर्वाचन आयोगको आयुक्तमा पूर्वसैन्य अधिकृत दिलबहादुर कार्कीलाई पनि नियुक्त गरिएको थियो । थापा दुई तारे जर्नेल थिए ।

सैनिक पृष्ठभूमि र परिवारका मान्छेले ठाउँ ठाउँमा नियुक्ति पाएपछि बहालरत सैन्य अधिकारीहरुले पनि ‘बाटो खुल्यो’ भन्न थालेका छन् । जनआस्थासँग अनौपचारिक कुराकानी गर्दै एकजना जर्नेलले भने ‘दुई चार जना भूतपूर्व सिपाही जम्मा पारेर फाइदा हुने पार्टी प्रवेश गर्दा हामीजस्ता माथिल्लो तहकाले संवैधानिक अंगमा जिम्मेवारी पाउन गाह्रो नहुने माहौल बन्दै गएको देखेँ ।’

टिप्पणीहरू