राउटे युवतीमाथिको यौनशोषण प्रकरण : वस्तीमा छिर्न बन्देज

राउटे युवतीमाथिको यौनशोषण प्रकरण : वस्तीमा छिर्न बन्देज

सुर्खेतको गुर्भाकोट नगरपालिका–११,आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई टीक टक बनाउने भन्दै मदिरा सेवन गराएर यौन दुर्व्यवहार गरेको घटनाले उग्र रुप लिएको छ ।

 ती युवतीलाई होटलमा बन्दी बनाएर यौन दुर्व्यवहार गरेको दुई वटा अश्लिल भिडियो क्लिप सार्वजनिक भएपश्चात नगरप्रमुख हस्त पुन र उपप्रमुख मैना बिकले जारी गरेको संयुक्त विज्ञप्तीमा स्थानीय प्रशासन, सरोकारवाला विभिन्न संघसंस्था तथा नगरपालिकाको समन्वयमा आपराधिक मानसिकता भएका तीन जनालाई कानुनी कार्वाहीको दायरामा ल्याइएको बताइएको छ ।

गैरसमुदायका व्यक्तित्वहरुको आवतजावत बढेकोले अब उक्त समुदायको समाचार,भिडियो डकुमेन्ट्री बनाउनुपरेमा सम्बन्धित निकायको पूर्वअनुमति आवश्यक पर्नेछ । साथै बस्तीमा आवतजावत गर्ने, समुदायका मानिसलाई मदिरा सेवन गराउने,मनोरञ्जनका लागि टिकटक बनाउने गरेको पाइएमा हदैसम्मको कारबाही गरिने विज्ञप्तीमा उल्लेख छ ।

यौन दुर्व्यवहार जस्तो जघन्य अपराधमा संलग्नलाई कडाभन्दा कडा कारबाहीको समेत माग गरिएको छ । उता,जिल्ला प्रशासन कार्यालय, सुर्खेतले सुरक्षा सतर्कतालाई कडा बनाएको छ ।

जनआस्थासँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले ती राउटे युवतीलाई उनीहरुकै समाजले स्वीकार नगरेको र उनीहरु आफ्नै समुदायबाट असुरक्षित भएकोले प्रहरी परिचालन गरिएको छ ।

रिजालका अनुसार गैरराउटे समुदायका मानिसलाई प्रवेश गर्न नदिन हाल २२ जना प्रहरी खटाइएको छ । घटनाको सत्यतथ्य सार्वजनिक नहुँदा र समुदायका मानिसहरुले सहज महसुस नगर्दासम्म प्रहरी परिचालन गरिने उहाँको भनाई छ ।

टिप्पणीहरू