स्थायी कमिटीलगत्तै माधव नेपाल गठवन्धनको बैठकमा

स्थायी कमिटीलगत्तै माधव नेपाल गठवन्धनको बैठकमा

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल स्थायी कमिटी बैठकलगत्तै विपक्षी गठवन्धनको बैठकमा सहभागी हुन काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुग्नुभएको छ ।

नेता नेपालसंगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुग्नुभएको छ । पछिल्लो राजनीतिक परिस्थिति र भावी रणनीति तय गर्न गठबन्धनका तीन शीर्ष नेता छलफलमा जुटेको बुझिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन नेपाल पक्षलाई गरेको प्रस्ताव र त्यसले उत्पन्न गरेको आशंका मेट्न नेताहरुबीच छलफल भएको बताइएको छ ।

यसअघि आज बिहान प्रचण्ड र नेता नेपालबीच नेपाल निवास कोटेश्वरमा डेढ घण्टा छलफल भएको थियो । उक्त छलफलमा हस्ताक्षरबाट पछि नहट्न प्रचण्डले गरेको आग्रहमा नेता नेपालले सहमति जनाएको बताइएको थियो ।

ओलीको प्रस्तावका बारेमा छलफल गर्न बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनका विरुध्द उभिने र हस्ताक्षर फिर्ता नहुने निर्णय गरेको थियो ।

संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा विपक्षी गठवन्धनका १४६ जना सांसदको हस्ताक्षर छ । रिटमा नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

टिप्पणीहरू