पत्रकार महासंघद्वारा सचेत रहन आग्रह

पत्रकार महासंघद्वारा सचेत रहन आग्रह

नेपाल पत्रकार महासंघले फिल्डमा खटिने पत्रकारमा बढ्दो दरमा कोरोना संक्रमण देखिन थालेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

महासंघका महासचिव रोशन पुरीले कोरोना संक्रमणबाट पत्रकारहरु संक्रमित हुने दर क्रमशः बढेको बताउनुभयो । देशभरमा हालससम्म ९ सय ५० जना पत्रकार संक्रमित भइसकेको बताउँदै संक्रमितमध्ये १९ जनाले ज्यान गुमाइसकेको उहाँले बताउनुभएको छ ।

अझै २ सय जनाभन्दा बढी सक्रिय संक्रमित पत्रकार रहेको पनि पुरीले जानकारी दिनुभयो ।
महासंघले फिल्डमा समाचार संकलन गर्ने पत्रकारहरुलाई स्वास्थ्य मापदण्ड अपनाउन पनि आग्रह गरेको छ । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम सँगसँगै आउने भएकाले आपतकालीन अवस्थामा चाहिने अत्यावश्यक सामग्रीको जोहो गर्न पत्रकारहरुलाई आग्रह गरिएको छ ।

जिल्ला शाखाबाट पनि समन्वय र सहयोग हुने भन्दै महासंघको सूचनाको सञ्जालमा जोडिन सबैलाई आग्रह गरिएको छ । कोरोना संक्रमणको जोखिम बढिरहेको बेला पत्रकारहरुको श्रमसँग जोडिएका समस्या उजुरीको रुपमा महासंघमा आउन थालेको महासचिव पुरीले बताउनुभयो ।

महासंघमा उजुरी परेका ५० जना पत्रकारमध्ये २९ जनाको समस्या समाधान भएको छ । पछिल्लो समय पत्रकारको श्रमसँग जोडिएको समस्या महासंघ एक्लैले गर्न नसक्ने भएकाले सरकारले समेत अग्रसरता देखाउनुपर्ने आवश्यकता रहेको महासंघले निष्कर्ष निकालेको उहाँले बताउनुभयो ।

सरकारले पत्रकार र श्रमसँग जोडिएको कानुनको प्रभावकारी कार्यान्वयन गराउने हो भने समस्या समाधान पनि त्यत्तिकै छिटो हुने पुरीको धारणा छ ।

टिप्पणीहरू