हिजो जुवाडेदेखि चोरसम्म पक्राउ, बालकको गयो ज्यान

हिजो जुवाडेदेखि चोरसम्म पक्राउ, बालकको गयो ज्यान

काठमाडौंमा तास खेलिरहेको अवस्थामा हिजो १० जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ गोंगबुमा डेरा गरी बस्ने फ्रिदा जोशीको कोठामा तास खेलिरहेको अवस्थामा काभ्रे साँगा घर भई हाल काठमाडौं कलंकी बस्नेत ४५ वर्षीया सरिता जोशीलगायत १० जना आइतबार साँझ पक्राउ परेका हुन् ।

फ्रिदा जोशीको कोठामा ताल खेलाएको सुराकीको आधारमा प्रहरीले छापा मार्दा उनीहरूलाई नगद २ लाख १५ हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरिएको हो । जुवा खेलाउने फ्रिदा जोशी भने फरार भएकी छन् ।

उता, भक्तपुर र धनकुटामा हातहतियार फेला पारिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दक्षिणबाराही मन्दिर नजिक चौताराबाट एसएलआर राइफलको ५ थान लाइभ गोली प्रहरीले फेला पारेको छ ।

धनकुटाको छ थर जोरपाटी गाउँपालिका–३ स्थित चिहानडाँडाको जंगलबाट वेवारिसे अवस्थामा १ थान लोड गरी राखिएको एकनाले भरुवा बन्दुक, बट बिनाको १ थान, बन्दुकको नाल र त्यसमा प्रयोग हुने २० थान छर्रा प्रहरीले बरामद गरेको हो ।

उता रौतहटमा गोली प्रहारबाट एकजना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–३ भोलनटारका ३५ वर्षीय कुलबहादुर घिसिङ गोली लागेर आइतबार दिउँसो घाइते भएका हुन् ।

स्थानीय जंगलमा बाख्रा चराउन गएको अवस्थामा अचानक बायाँ घुँडा मुनि गोली लागेर घाइते भएका उनलाई उपचारका लागि आफन्तले नयाँ मेडिकल कलेज चितवनमा लगेका थिए । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बर्दियामा पावर ट्रेलरमा च्यापिएर एक बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–१० लम्की फाँटास्थित खेतमा पावर टेलर पल्टिँदा च्यापियर स्थानीय प्रेम चौधरीको ५ वर्षीय छोरा सक्षम चौधरीको आइतबार बेलुका मृत्यु भएको हो ।

खेतमा स्थानीय बेलभारका २० वर्षीय सकेट चौधरीले पावर टे«लर सिक्ने क्रममा टे«लर पल्टिँदा च्यापिँदा सक्षमको मृत्यु भएको हो ।

यता, काठमाडौंको कृष्ण मन्दिरबाट भने मूर्ति चोरी भएको छ । गोकर्णेश्वर नगरपालिका–४, गोकर्ण रमपम चोकस्थित कृष्ण मन्दिरबाट करिब एक फिटको पित्तलको कृष्ण मूर्ति चोरी भएको हो । प्रहरीले घटनामा संलग्न भएको आंशकामा तीन जनालाई नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू