‘ओलीको प्रस्ताव हामीसहितको एकता हो’ :पूर्व माओवादी

‘ओलीको प्रस्ताव हामीसहितको एकता हो’ :पूर्व माओवादी

नेकपा एमालेभित्र चर्कंदो अन्तरविरोधको पेलानमा परेको पूर्वमाओवादी समूहले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको हिजोको प्रस्तावले आफूहरुसहितको एकतामा जोड दिएको दाबी गरेको छ ।

एमालेलाई माओवादीसँग एकतापूर्वको अवस्थामा पुर्याई त्यहि बिन्दुबाट एकताको आधार खोज्नुपर्ने माधव नेपाल समूहको अडानका बीच ओलीले हिजो साँझ ६ बुँदे प्रस्ताव अघि सार्नुभएको थियो । उक्त प्रस्तावमा पार्टीलाई २०७५ जेठ ३ मा फर्काएर क्रियाशील गराउने उल्लेख छ ।

पूर्व माओवादी समूहका नेता दावा तामाङ्गले एक नम्बर बूँदाले दुई नम्बर बुँदाको खण्डन गरेकाले आफूहरुसहितको एकतामै अध्यक्ष ओलीले जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सबैको चाहना नेपालमा वामपन्थीहरुको बृहत एकता हुनुपर्छ भन्ने हो, अध्यक्षको वक्तव्यले त्यसैमा जोड दिएको छ । त्यसैले हामीहरु बाहेकको एकताको प्रश्न उठाउनु आवश्यक नै छैन ।’

ओलीको प्रस्तावको एक नम्बर बुँदामा नेकपा एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अघि बढाइने र तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एमालेमा लागेकालाई समेटेर केन्द्रीय कमिटी र स्थायी कमिटी क्रियाशील हुने उल्लेख छ । नेता तामाङले पहिलो बुँदाले नै आफूहरुसहितको एकताको कुरा प्रष्ट बताएकाले अर्को बुँदामा अल्झिनुको अर्थ नरहने बताउनुभयो ।

तर, नेपाल समूहले भने एमालेलाई जेठ २ को अवस्थामा पुर्याउँदा पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादलसहितका नेताहरु स्वत: बाहिरिने दाबी गर्दै आएको छ। ओलीको हिजोको प्रस्तावको दोस्रो बुँदाको आशय पनि त्यहि हुन्छ ।

‘हिजो प्रचण्ड,बादल, नारायणकाजीसहितको एकता भएको हो,मूलभूत रुपमा त्यो एकता कायम नै छ । प्रचण्डहरु बाहिरिनुभएको हो । त्यसैले हामी पार्टीबाट बाहिरिने कुरा गरिएको होइन । हिजोको वक्तव्य राम्रोसँग पढ्न आग्रह गर्छु’, उहाँले भन्नुभयो ।

उहाँले आफूहरुका कारण माधव नेपालहरुसँगको एकता भाँडिएको भनेर गलत प्रचार गरिएको पनि बताउनुभयो । आफूहरु पार्टी एकताका पक्षमा उभिएकै कारण अहिलेको ठाउँमा पुगेकाले आरोप सत्य नहुने उहाँको भनाइ छ।

तामाङले भन्नुभयो, ‘हाम्रो कारणले एकता रोकिएको भन्ने कुरा सत्य होइन, हामी त पार्टी एकता गर्नुपर्छ भन्नेमै छौँ । बहस, सम्बाद हुँदा कसले के भन्यो त्यो फरक कुरा हो । तर माधव नेपाल कमरेडले पनि हामीहरुलाई बाहिर राखेर एकताको कुरा गर्नुभएको हो जस्तो लाग्दैन ।’

एमालेका दुई समूह मिल्दा पनि आफूहरु माओवादीमा नफर्किने तामाङले बताउनुभयो । जनआस्थासँगको कुराकानीमा उहाँले फेरि माओवादीमा फर्किने कुराको कल्पना पनि नगरेको प्रष्ट पार्नुभयो ।

‘पहिला पनि भनिसकेको छु,फेरि दोहोर्याउनु पर्छ भन्ने लाग्दैन । हामीले हाम्रो कुरा भनिसकेका छौं । विविध कारणले नाम एमाले रहन गएपनि यो नेकपाकै निरन्तरताका रुपमा आएको पार्टी हो । नामको पछि लाग्नुपर्छ भन्ने लाग्दैन’, नेता तामाङले भन्नुभयो ।

हिजो मात्र पूर्वमन्त्री तथा पूर्वमाओवादी नेता मणि थापाले पनि एमालेका दुई समूह मिल्दा आफूहरुलाई समस्या नहुने बताउनुभएको थियो । माओवादीमा फर्किने सम्भावना नरहेको भन्दै थापाले पूर्वमाओवादीका कारणले एकता टुट्यो भन्नु माधव समूहको दृष्टिदोष भएको बताउनुभएको थियो ।

टिप्पणीहरू