युएईमा १० लाखको साहित्यिक अक्षयकोषको स्थापना

युएईमा १० लाखको साहित्यिक अक्षयकोषको स्थापना

युएईमा रहेका नेपाली साहित्यकारहरुले १० लाख नेपाली रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् । त्यहाँको सगरमाथा साहित्य प्रतिष्ठानले अक्षयकोष स्थापना गर्ने हालै निर्णय गरेको प्रतिष्ठानका महासचिव डिजी शर्माले बताएका छन् ।

प्रतिष्ठानले आगामी दुई वर्षभित्र १० लाख रुपैयाँ बराबरको कोष स्थापना गर्ने निर्णय गरेको हो । कोष स्थापनापछि साहित्य, कला तथा सङ्गीत क्षेत्रमा आवद्ध कुनैपनि संस्था वा .व्यक्तिलाई योगदानको आधारमा सम्मानसहित पुरस्कार दिने लक्ष्य समेत राखिएको छ ।

पुरस्कार तथा पुरस्कारको राशीबारे पुरस्कार वितरण सम्बन्धी मापदण्डमा उल्लेख गरिने बताइएको छ । प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गरिने भनिएको उक्त पुरस्कारको नाम भने सगरमाथा वर्ष पुरस्कार तय गरिएको छ ।

अक्षयकोषको निम्ति रकम संकलन, व्यवस्थापन र सञ्चालनको लागि संस्थाका केन्द्रीय सचिव डि एल घिमिरेको संयोजकत्वमा सह–सचिव सुजन सिरेङ चोङ्बाङ लिम्बू र सदस्य रविन दर्लामी मगर सदस्य रहेको तीन सदस्यीय अक्षयकोष व्यवस्थापन समिति गठन गरिएको छ ।

हालसम्म प्रतिष्ठानका संरक्षक समर चेम्जोङ आभाषले कोषको लागि ५० हजार, अध्यक्ष जीवित खड्का मगरले ५१ हजार, प्रवक्ता राजेशराज गड्तौलाले २५ हजार, सूचना विभाग प्रमुख अजित क्षेत्रीले २० हजार, महासचिव डि जि शर्माले ५० हजार नेपाली रुपैयाँ जम्मा गर्ने घोषणा गरिसकेका छन् ।

यसैगरी केन्द्रीय सदस्य जीरन थुलुङ, सचिव डि एल घिमिरे, सहसचिव सुजन सिरेङ चोङ्बाङ लिम्बू, सदस्य कृष्णप्रसाद घिमिरे, सल्लाहकार दीपराज न्योङङ्हाङ, केन्द्रीय सदस्यहरु रविन दर्लामी मगर, अमृता वान्तवा, युवराज खतिवडा र उपाध्यक्ष सरु शितल राईले जनही २०÷२० हजार रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता जनाएको बताइन्छ ।

संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक विवेक दुलाल क्षेत्रीले ५० हजार १ सय ५० रुपैयाँ जम्मा गर्ने बताएका छन् । काठमाडौंबाट सुभद्रा नेपालीले १० हजार गरी अहिलेसम्म १६ जना मनकारी दाता तथा अभियन्ताहरुबाट करिब ४ लाख ३६ हजार रुपैयाँँ बराबरको रकमको घोषणा भइसकेको छ ।

-दुबाईबाट रामप्रसाद ढुंगेल

टिप्पणीहरू