ओलीको प्रस्ताव नेपाल समूहद्वारा अस्वीकार

ओलीको प्रस्ताव नेपाल समूहद्वारा अस्वीकार

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि अघि सारेको ६ बुँदे प्रस्तावलाई खनाल-नेपाल समूहले अस्वीकार गरेको छ । प्रारम्भिक प्रतिक्रिया दिँदै सो समूहका नेताहरुले ओलीको प्रस्तावलाई जालझेल र षड्यन्त्रकै निरन्तरता भएको बताएका छन् ।

ओलीले हिजो साँझ एमालेलाई ३ जेठको अवस्थामा फर्काउने प्रतिवध्दतासहित पार्टी एकताको आव्हान गर्नुभएको थियो । ६ बुँदे प्रस्तावमा संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा खनाल-नेपाल समूहका सांसदहरुले गरेको हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राखिएको छ । ओलीको उक्त प्रस्तावलाई खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले पूर्णत: अस्वीकार गर्ने बताउनुभयो ।

‘जेठ ३ भनेको के हो ? प्रचण्डसहितको पार्टीको कुरा गरेको हो ? जेठ ३ मा त उहाँले प्रचण्डसँग एकता गरिसक्नुभएको थियो । यस्ता कन्फ्युजनका कुरा गरेर छलछाम गर्छु भनेर अब नसोचे हुन्छ’,

पार्टी एकताको आधार पार्टीलाई जेठ २ को अवस्थामा पुर्याउनुपर्ने आफूहरुले प्रष्ट बताइरहेका बेला ओलीले जेठ ३ मा फर्काउने प्रस्ताव गरेर भुलभुलैयामा पार्न खोजेको उहाँको भनाइ छ । उहाँले ओलीको भुलभुलैयामा परेर आफ्ना माग र अडानबाट कुनै हालतमा पछि नहट्ने स्पष्ट पार्नुभयो ।

‘जेठ ३ भनेको के हो ? प्रचण्डसहितको पार्टीको कुरा गरेको हो ? जेठ ३ मा त उहाँले प्रचण्डसँग एकता गरिसक्नुभएको थियो । यस्ता कन्फ्युजनका कुरा गरेर छलछाम गर्छु भनेर अब नसोचे हुन्छ’, उहाँले भन्नुभयो’, ‘फागुन २८ पछिका सबै निर्णय खारेज गरेर संसद पुनर्स्थापना गर्ने प्रतिवद्धता नगर्दासम्म यस्ता झुक्याउने प्रस्ताव हामीलाई मान्य छैन । उहाँले जेठ ३ भन्नुभएको छ । हामीले भन्दै आएको जेठ २ हो । यसैमा कन्फ्युजन छ । अर्को कुरा जेठ ३ मै भए पनि त्यतिबेला संसदविहीनताको अवस्था थिएन । त्यसकारण यस्ता कुरामा हामी अल्झिदैनौं ।’

नेता न्यौपानेले हिजोको स्थायी कमिटीले गरेको निर्णय नै आफूहरुको आधिकारिक धारणा भएकाले त्यसबाट दाँयाबाँया हुने अवस्था नरहेको पनि बताउनुभयो । फागुन २८ यता पार्टी र सरकारमा रहेर गरेका सबै निर्णय फिर्ता लिएर ओलीले सार्वजनिक रुपमा आत्मालोचना गर्नु पर्ने पनि उहाँको भनाइ छ ।

ओलीको ६ बुँदे प्रस्तावलाई उहाँले काँटामाथि आँटा राखेर माछा मार्न थापिएको बल्छिको संज्ञा दिनुभयो ।

ओलीको ६ बुँदे प्रस्तावलाई उहाँले काँटामाथि आँटा राखेर माछा मार्न थापिएको बल्छिको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘यो हामीलाई झुक्याउने रणनीति हो भनेर सामान्य मान्छेले पनि बुझ्ने कुरा हो । माछालाई गँडयौला देखाउन काँटामा आँटा राखेर लोभ्याएजस्तै हो । हामी त्यस्ता कुरामा लोभिदैनौं ।’

ओलीको प्रस्तावलाई खनाल-नेपाल समूहकै कतिपय नेताहरुले भने सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। योगेश भट्टराई, ठाकुर गैरेलगायतका नेताहरुले प्रस्तावलाई सकारात्मक रुपमा लिएर थप छलफलको वातावरण बनाउनुपर्ने धारणा सार्वजनिक गर्दा जगन्नाथ खतिवडा,रामकुमारी झाँक्री लगायतले भने अस्वीकार गर्ने बताएका छन् ।

तर, तपाईंहरुकै समूहमा एकमत देखिएन नि भन्ने जनआस्थाको प्रश्नमा नेता न्यौपानेले व्यक्तिगत धारणाले पार्टीको विचारको प्रतिनिधित्व नगर्ने बताउनुभयो । ‘पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने, फागुन २८ यताका सबै निर्णय खारेज गर्ने र प्रतिनिधिसभा विघटनको निर्णयबाट ओली पछि हट्नुपर्ने जुन हामीले भन्दै आएका छौँ, त्यसमा साथीहरुको बिमति छ भन्ने लाग्दैन । कसैले अलि छिटो बुझ्छ कसैले ढिलो बुझ्ला तर हाम्रो बुझाइ एउटै हुन्छ’, उहाँले भन्नुभयो ।

पहिला उहाँले सत्ताका लागि गरेका हर्कतबाट फिर्ता हुनुपर्छ । त्यसपछि हाम्रो हस्ताक्षर फिर्ता भैहाल्छ ।

आज बस्ने बैठकले आधिकारिक धारणा सार्वजनिक गर्ने उहाँको भनाइ छ । ‘हामी अहिले बैठक बस्दैछौं । एउटा निर्णय भैहाल्छ । तर ओलीको प्रस्ताव स्वीकार गर्ने सम्भावना मैले देखेको छैन ।

विश्वासको मत गुमेको प्रधानमन्त्रीले राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा ओलीले सत्तालिप्सा देखाएको र त्यसैलाई रोक्न आफूहरुले रिटमा हस्ताक्षर गरेको उहाँको भनाइ छ । ‘उहाँले हस्ताक्षर फिर्ताको कुरा गर्नुभएको रहेछ, त्यसो हो भने पहिला उहाँले सत्ताका लागि गरेका हर्कतबाट फिर्ता हुनुपर्छ । त्यसपछि हाम्रो हस्ताक्षर फिर्ता भैहाल्छ ।’

टिप्पणीहरू