कारले हिर्काएर पैदल यात्रु मार्ने सांसद पुत्र पक्राउ

कारले हिर्काएर पैदल यात्रु मार्ने सांसद पुत्र पक्राउ

मापसे गरेर तीब्र गतिमा कार हुईक्याउँदा भएको दुर्घटनामा एक जनाको ज्यान लिएर र अर्का एक जनालाई घाइते बनाएर फरार सांसद पुत्रलाई अन्ततः प्रहरीले चार दिनपछि पक्राउ गरेको छ ।

निषेधाज्ञामा जेठ २० गते साँझ साथीहरुसँग मापसे गरेर तीब्र गतिमा कार कुदाउँदा विराटनगर ४, कञ्चनबारी क्षेत्रको एयरपोर्ट मार्गमा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कार दुर्घटना भएको थियो । फरार भएका भनिएका विराटनगर ५,बरगाछी घर भएका प्रदेश सांसद बिन्दिया कार्कीका २४ वर्षीय छोरा रोबिन भनिने रबिन कार्कीलाई मोरङ प्रहरीले घटनाको चार दिनपछि हिजो पक्राउ गरेको हो ।

रबिनले तीब्र गतिमा कुदाएको कारले नजिकैको एभरेष्ट उद्योगमा काम गरेर पैदलयात्रा घर फर्कंदै गरेका मजदुरहरुलाई ठक्कर दिँदा ३५ वर्षिय भारतीय नागरिक मुकेश शर्मा (दास) को मृत्यु भएको थियो । सँगै रहेका मजदुर मोरङ कटहरी गाउँपालिका २ का २२ वर्षीय राजकुमार राजवंशी भने सख्त घाइते भएका थिए । दुर्घटनापछि सवारी अनुमतिपत्र नलिई कार कुदाउने सांसदपुत्र रबिन कार्की विभिन्न बहाना बनाएर साथीहरुसँगै फरार भएका थिए ।

तीब्र गतिमा कार कुदाएर मानवीय क्षति पुर्याउने चालक सांसद पुत्र भएको प्रत्यक्षदर्शीहरुले बताए पनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । यता आमा प्रदेश सांसद बिन्दिया कार्कीले पनि आफनो छोराले कार नकुदाएको बताउँदै आएकी थिइन् । तर प्रहरीले पहुँचवालालाई देखादेखि उन्मुक्त्ति दिन लागेको भन्दै चर्को आलोचना भएपछि चार दिनपछि रबिनलाई पक्राउ गरेर प्रहरीले सवारी ज्यान कसुरमा मुद्दा दर्ता गराएको हो ।

प्रहरीले कारमा सवार साथीहरुसँग सोधपुछ गर्ने क्रममा सबैले कार रबिनले नै कुदाएको र त्यसभन्न्दा पहिले सँगै मिलेर मापसे गरेको बताएपछि प्रहरी फरार रबिनलाई पक्राउ गर्न बाध्य भएको थियो । यता प्रत्यक्षदर्शीले पर्याप्त बयान दिए पनि प्रहरीले सांसद पुत्रलाई पक्राउ नगरेपछि शाहीकालमा तात्कालिन युवराज पारस शाहको कारले संगीतकार प्रवीण गुरुङलाई ठक्कर दिएर हत्या गरेको घटना जस्तै नक्कली चालक खडा गरेर गुपचुप बनाउन खोजेको भन्दै प्रहरीको आलोचना भएको थियो ।

चार दिनपछि फरार सांसद पुत्रलाई पक्राउ गरेर मात्र प्रहरीले आइतबार अपरान्ह दुर्घटनाको प्रारम्भिक सूचना सार्वजनिक गरेको हो ।

पक्राउ परेका रबिनले बरगाछी युवा समूहमा रहेर कोरोना संक्रमितहरुको शव व्यवस्थापनमा सहयोग गर्ने गरेको बताइन्छ । आमा तथा सांसद बिन्दिया कार्कीले आफनो निजी कार संक्रमितको शव व्यवस्थापनका लागि भनेर दिएको स्थानीयले बताएका छन् । २० जेठमा सोही कार छोरा रबिनले मापसे गरेर बिनालाइसेन्स कुदाउँदा भएको दुर्घटनामा एक जनाको ज्यान गएको थियो ।

यता दुर्घटनामा मृत्यु भएका भारतीय नागरिकको शव आफन्तले बुझेर लगिसकेका छन् । उनीहरुलाई सांसद कार्कीले किरिया खर्च ५० हजार भारु दिएको बताइन्छ । अर्का घाइते मजदुर चाहिँ अस्पतालबाट जर्बदस्ती डिस्चार्ज भएर घरमा सिकिस्त अवस्थामा छन् । उनको छातीको हड्डी भाँचिए पनि गरिबीले गर्दा थप उपचार हुने अवस्था देखिँदैन ।

दुर्घटनामा एक जना मजदुरको ज्यान गएको र एक जना घाइते भएकाले दोषीलाई कारबाही र डितलाई क्षतिपूर्ति दिन मजदुर संगठनहरुले माग गरेका छन् । घटनाको चार दिनपछि आइतबार अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङ र संयुक्त् ट्रेड युनियन समन्वय केन्द्र प्रदेश १ समितिले आइतबार विज्ञप्ति मार्फत् दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेका हुन् ।

टिप्पणीहरू