बालुवाटारइतर एमाले स्थायी समिति बैठकको ठहर

बालुवाटारइतर एमाले स्थायी समिति बैठकको ठहर

बालुवाटार इतर नेकपा एमालेको शुक्रवार र शनिवार सम्पन्न स्थायी समिति भुर्चुअल बैठकले १० बुँदे प्रस्ताव पारित गर्दै निर्वाचनको घोषणापछि कामचलाउ हैसियतमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट मन्त्रिपरिषद्मा हेरफेर गरिनु लोकतान्त्रिक राजनीतिक प्रणाली नै भत्काउनेतर्फको निर्लज्ज पाइला रहेको ठहर गरेको छ ।

साथै, बैठकले दुई–दुई पटक संविधान सभा निर्वाचनमार्फत जारी संविधान कामचलाउ सरकारका प्रधानमन्त्रीले संशोधन गर्न कार्यदल गठन गरिएको विषय आपत्तिजनक र अलोकतान्त्रिक ठहर्याएको छ ।

बैठकको निर्णयमा फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पार्टीको नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीलगायत सबै कमिटी, जनसंगठन र पेशागत संगठनहरुलाई २०७५ साल जेठ २ गते पूर्वको स्थितिमा कायम गरी सञ्चालन गर्दै पार्टीलाई एकताबद्ध बनाउन गरिएको प्रयासलाई अध्यक्ष केपी ओलीले पूर्ण बेवास्ता गरेको समेत निश्कर्ष छ ।

निर्णय उल्लेख गर्दै स्रोतले भन्यो ‘पार्टी विधान मिचेर स्वेच्छाचारी किसिमले जिम्मेवारीबाट हटाउने, स्पष्टीकरण सोध्ने र पार्टी सदस्यबाट नै निश्कासित गर्ने फुटपरस्त काम गरेकाले अहिलेको जटिल अवस्था सिर्जना भएको हो । यति हुँदाहुँदै पनि राष्ट्रिय हितमा पार्टीको एकता कायम गर्न हामीले वार्ता गर्नेदेखि कार्यदलमा सहभागी हुनेसम्मका कुरामा सहमति जनायौं । पार्टीको एकतालाई कायम राख्न र नेपालको वामपन्थी आन्दोलनविरुध्द भइरहेका षड्यन्त्रहरुलाई विफल पार्न हरसम्भव प्रयास गर्यौँ । तर केपी ओलीले वार्तालाई दाउपेचको रुपमा दुरुपयोग गर्दै आफ्ना स्वेच्छाचारी क्रियाकलाप जारी राख्नुभयो ।’

बैठकले कोरोना महामारीबाट निधन भएका नेकपा (एमाले), पोलिटव्यूरो सदस्य पशुपति चौंलागाई,वैकल्पिक पोलिटव्यूरो सदस्य योगनारायण यादव, कर्णाली प्रदेश कमिटी सदस्य रत्नप्रसाद न्यौपाने,लुम्बिनी प्रदेश कमिटी सदस्य सतमान पुन, केन्द्रीय विभाग सचिव डा.गोविन्दबहादुर थापा,केन्द्रीय विभाग सदस्यहरु डा.माधव पन्थी, श्रीचन्द्र शर्मा र चन्द्र न्यौपाने, डोल्पा जिल्ला कमिटी अध्यक्ष दत्तबहादुर रोकाया,नवलपरासी जिल्ला कमिटीका अध्यक्ष शिवलाल कँडेल,कास्की जिल्ला कमिटीका उपाध्यक्ष शोभाकर भण्डारी, डोल्पा त्रिपुरासुन्दरी न.पा.का मेयर ओमबहादुर बुढा, काभ्रे जिल्ला कमिटी सचिवालय सदस्य लेखराज गौतम,पश्चिम रुकुम जिल्ला कमिटी सदस्य सिसिल (ससिराम) सार्की र भक्तपुरका पुराना नेता गणेश खत्रीको असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

संक्रमित अवस्थामा रहेका पार्टीका सम्पूर्ण कार्यकर्ता, सदस्य शुभेच्छुक तथा आमजनसमुदायमा शीघ्र स्वास्थ्यलाभको कामना समेत बैठकले गरेको छ ।

टिप्पणीहरू