गुप्ताले किन मन्त्री खान मानेनन् त !

गुप्ताले किन मन्त्री खान मानेनन् त !

मन्त्री बन्नका लागि बालुवाटारमा गत सप्ताहन्त विशेषगरी मधेसी नेताको लाइन लागिरहेका बेला स्वतन्त्र उम्मेदवारको हैसियतमा सूर्य चिन्ह लिएर चुनाव जितेका बृजेश गुप्ताले भने पाएको मन्त्री पद पनि अस्वीकार गरेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्ति गर्नुभएको मन्त्रिपरिषद् पुनर्गठनमा मन्त्री बन्ने अफर गुप्ताले अस्वीकार गरेको सोही समूहका नेता तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले खुलासा गर्नुभएको हो ।

अस्तिको पुनर्गठनमा विघटित प्रतिनिधिसभामा डेढ दर्जन सांसद भएको महन्थ खेमाबाट १० जनाले सिंहदरबारमा इन्ट्री मार्दा सूर्य चिन्हधारी मधेसी नेता त्रिपाठीले भने आउट हुनुपरेको थियो । त्रिपाठीले आफूभन्दा कनिष्ठलाई उपप्रधानमन्त्री बनाएका कारण स्वेच्छाले पद छाडेको भने पनि यथार्थ भने फरक रहेको जानकारहरु बताउँछन् ।

पहिलो लटमा मन्त्री बनेका सबैलाई हटाउँदा त्रिपाठी पनि स्वतः हट्ने अवस्था आएपछि गुप्तालाई मन्त्रीको अफर गरिएको बताइन्छ । आफैँ मन्त्रीमा दोहोरिने त्रिपाठीको चाहना बुझेपछि गुप्ताले असहज महसुस गरेर मन्त्री बन्न अनिच्छुक देखिएको भन्नेहरु पनि छन् । त्रिपाठीले भने मन्त्री पद अस्वीकार गरेर गुप्ताले उच्च नैतिकता देखाएको भन्दै सामाजिक सञ्जालमा प्रशंसा गर्नुभएको छ ।

आफ्नो फेसबुकमा त्रिपाठीले लेख्नुभएको छ, ‘माननीय बृजेश गुप्तालाई मन्त्री पद दिन खोज्दा अस्वीकार गर्नुभयो । यसको म प्रत्यक्ष साक्षी छु । अद्भूत र उच्च नैतिकताका लागि सलाम छ बृजेश जी !’

टिप्पणीहरू