जमिन खन्दा भेटियो ऐतिहासिक जिनिस

जमिन खन्दा भेटियो ऐतिहासिक जिनिस

नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गाविस वडा नं .४ स्थित कुमारीदेवी मन्दिर तथा दशैँघर नजिकै पर्ने कोटथुम्कामा जग खन्दा दुई मीटर गहिरोमा पुगेपछि माटोको करुवा,चिम्टा आकारको फलामे सामग्री, ढुङ्गाको ओखललगायतका पुरातात्विक संरचना भेटिएको थियो ।त्यसपछि झिल्टुङ्ग सम्पदा बस्ती निर्माण समितिका अध्यक्ष बिनोदजंग भण्डारी र वडा नं.५ को तर्फबाट वडाध्यक्ष अनन्तराम नेपालले पुरातत्व विभागलाई पत्राचार गर्दै भेट्टिएका पुरातात्विक वस्तुहरुको अध्ययनको लागि आग्रह गरेका थिए ।

विभागले कोरोना सँक्रमणको जोखिम कम भएपछि स्थलगत अनुगमन गरेर त्यसको इतिहासको अध्ययन गर्ने तयारी गरेको नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयाँलले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू