नेकपा विभाजनसँगै बादलको शक्ति परीक्षण

नेकपा विभाजनसँगै बादलको शक्ति परीक्षण

सर्वोच्च अदालतको आदेशबाट गत फागुन २३ गते पार्टी फुटेपछि मन्त्रीमा निरन्तरतानिम्ति एमाले बनेका पूर्वमाओवादी नेताका दु:खी दिन शुरु भएका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दशक लामो जनयुध्द हाँकेका,पटक पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेर डफ्फा नै बोकी अर्को समूह (बैध्य,बिप्लवसहितको) गठन गरेका देखेर बादल आउँदा माओवादीमा पहिरो जाने सोच्नुभएको थियो ।

तर,उहाँले मन्त्री पद र राष्ट्रिय सभाको सांसद पद जोगाउन एमाले प्रवेश गर्दा अढाइ वर्ष गृहमन्त्री हुँदाका राजनैतिक सल्लाहकार सूर्य सुवेदी “पथिक” र पिएहरूलाई समेत ल्याउन नसकेपछि बालुवाटारका कमरेडहरुले उतिबेलै अचम्म मानेका हुन् । तत्काल नआए पनि एकाध हप्तापछि आउने बादलको भनाईलाई पत्याएर झण्डै तीन महिना कुर्दा पनि चरो मुसो बादलको पछि नलागेपछि बालुवाटारले पनि जोडघटाउ गर्न थालेको बताइन्छ ।

यसबीच बादलले लामो समयदेखि आफ्नै निजी सचिव भएका बिरु तामाङलाई समेत एमालेमा लैजान सकेनन् । अरु पनि तान्न नसकेपछि गत ६ गते बालुवाटारको सेटिङमा उनी लगायत सात जना मन्त्री फालिएको चर्चाले महत्व पाउन थालेकोे हो ।

उनै पूर्वमाओवादीहरुले यसबीच एमाले निर्माण गर्ने वरिष्ठ नेता माधवकुमार नेपालहरूलाई एमालेमा स्वागत छ भन्दै खिसिट्युरी गरेका थिए ।

हुन तः मिलेको भए प्रधानमन्त्री ओली बादललाई नै गृहमन्त्रीमा निरन्तरता दिन चाहनुहुन्थ्यो भन्नेहरु पनि देखिएका छन् । अरुलाई बिदा गरे पनि थापालाई गृहमा राख्दा आफैँले चलाए बराबर हुने उहाँले पछिल्लो अढाई वर्षमा देखिसक्नु भएको छ । आफ्नै पार्टीका अरुलाई नियुक्त गर्दा के हो के हो ? भन्ने बुझाईमा उहाँले त्यस्तो क्यालकुलेशन गर्नुभएको बताइन्छ ।

अहिले मन्त्रीपरिषद् पुनगर्ठनमा गृहको लागि निकै हानाथाप भएकाले उहाँ आफैँले राख्नुपर्ने अवस्था आएको स्रोतको दाबी छ । यसबीच प्रधानमन्त्री नजिक भनिएका नेताहरुले डेलिगेशन पठाएर बालुवाटारमा दबाबसमेत दिएका थिए । तर अदालती आदेशले बादललगायत पूर्वमाओवादी मन्त्रीहरूलाई मुद्दाको किनारा नलागेसम्म काम नगर्नु,नगराउनु भनेकाले पुनः मन्त्री बनाउन नमिलेको हो ।

बादलहरुले पनि अहिले सेटिङमा आफूहरुलाई मिल्काइएको अर्थ लगाउन थालेको निकट स्रोतले बताएको छ । किनभने अदालतमा उनीहरुविरुध्द मुद्दा दर्ता गरेकै २-३ दिनमा सुनुवाई गरेर जेठ ६ गते दिउँसो आदेश भएको थियो । त्यो दिन बादललाई दोहोरो घाटा लाग्यो । यता मन्त्री पद गएको थियो भने उता केही घण्टापछि निर्वाचनमा पराजित भएर सांसद पद नै गुमेको थियो ।

अनेक अर्थ लाग्नसक्ने देखिएपछि सातै जना मन्त्रीलाई बालुवाटारले क्वार्टरचाँहि नछाड्नु भनेर शुक्रबारसम्म मन्त्रीमा दोहोर्याउने आश्वासन दिइएको स्रोतले बताएको छ । तर शुक्रबार जसपाका १० जना मन्त्रीमा नियुक्त भएर राती शपथ ग्रहण गरेपछि हिजो शनिबार दिउँसो डेरा सर्न उनीहरुलाई दबाब परेको थियो । मन्त्री क्वार्टर स्रोत भन्छ,‘हप्तौंसम्म रामबहादुर थापा,गृहमन्त्री लेखिएको नम्बर प्लेटसमेत हटाइएको थिएन ।’

राजनीतिक जोड घटाउले काम नगरेपछि माओवादीको सांसद हापेर एमालेमा छ महिने मन्त्री खान आउँदा केही महिनामै चट् भएपछि उनीहरु जेठ ६ गतेबाट बेहाल भएका हुन् । उनै पूर्वमाओवादीहरुले यसबीच एमाले निर्माण गर्ने वरिष्ठ नेता माधवकुमार नेपालहरूलाई एमालेमा स्वागत छ भन्दै खिसिट्युरी गरेका थिए । एमालेको संगठित सदस्यता प्राप्त नगरी सोझै नेता बन्न आएका लेखराज भट्ट र टोपबहादुर रायमाझीले त्यसो भनेको सुन्दा ‘…लाई भन्दा देख्नेलाई लाज’ झैँ भएको थियो ।

यता प्रधानमन्त्री ओलीले पनि उनीहरूको उपादेयता सकिएको हिसाब निकाल्न थाल्नुभएको बताइन्छ । तीमध्ये रौतहटको स्थानीय राजनीतिका कारण प्रभु साहलाई भने बालुवाटारले चुनावसम्म अंगाल्नसक्ने आँकलन गरिएको छ ।

स्थानीय निर्वाचनमा रौतहटको चन्द्रनिगाहापुरमा एमालेले सबै पदमा जित्ने अवस्था थियो । तर, नेता नेपालको सिफारिश भएको उम्मेदवारलाई टिकट नदिएर अध्यक्ष ओलीले मेयरमा अर्कैलाई टिकट दिएपछि उपमेयर र बहुमत सदस्य मात्रै एमालेका भएका हुन् ।

टिप्पणीहरू