नयाँ मन्त्रीले तुरुन्तै क्वार्टर नपाउने - Jana Aastha News Online Jana Aastha News Online
Logo
११ आश्विन २०७८, सोमबार
|  Mon Sep 27 2021

नयाँ मन्त्रीले तुरुन्तै क्वार्टर नपाउने

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार २०:००


प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शुक्रवार राति राजेन्द्र महतोको नेतृत्वमा महन्थ ठाकुर खेमाबाट आठ मन्त्री र दुई राज्यमन्त्री नयाँ,पूर्व एमाले खेमाबाट २ जना मन्त्री थपेर १७ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

हिजो सपथ लिएका दुई उपप्रधानमन्त्रीसहित नयाँ मन्त्रीहरुले तत्कालै सरकारी क्वार्टरमा सर्न नपाउने भएका छन् ।

यसअघि नै पदमुक्त भएका मन्त्रीमध्ये केहीले ताला लगाएर हिंडेको त केहीले क्वार्टरै नछाडेका कारण नयाँ अनुहारका मन्त्रीहरुले पुल्चोकमा तत्काल सर्न सकस हुने देखिएको छ ।

गत जेठ ६ गते सर्वाेच्च अदालतको आदेशपछि पदमुक्त भएका रामबहादुर थापा,टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभु साह,मणिचन्द्र थापा,गौरीशंकर चौधरीहरुले मन्त्री क्वार्टर नै कब्जा जमाएर क्वार्टरको ताला चाबी लिई बसेका छन् ।

शहरी विकास मन्त्रालयका अनुसार अहिले मन्त्रीक्वार्टरमा १३ जना छन् । जसमध्ये नियुक्ति बदर भएका पूर्व माओवादी खेमाका मन्त्रीहरु ६ जना छन् । खेलकुद मन्त्री दावा तामाङले भने क्वार्टर प्रयोग गरेका थिएनन् । उनी भक्तपुरस्थित घरमै बसेका थिए ।

यस्तै वनमन्त्री प्रेमबहादुर आले,अर्थमन्त्री बिष्णु पौडेल,महिला मन्त्री जुली महतोले क्वार्टर प्रयोग नगरी आफ्नै घरमा बस्दै आएका थिए । मन्त्रीबाट हटेलगतै प्रदीप ज्ञवाली क्वार्टर छाड्ने तयारी गरिरहेका छन् ।

रामबहादुर थापा बादललाई मन्त्रीमण्डल बिस्तार हुँदा समेटिन्छु भन्ने आशले होला,शुक्रवारसम्म क्वार्टरमै रहेकोमा शनिवार बादलले केही सामग्री ओसार्न शुरु गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
लोकप्रिय