शीतल निवासले ५० लाख भनिरहँदा नजिकैका अमेरिकी राजदूतले अंग्रेजीमा यसो भने..

शीतल निवासले ५० लाख भनिरहँदा नजिकैका अमेरिकी राजदूतले अंग्रेजीमा यसो भने..

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस विज्ञ टीकाप्रसाद ढकाल धेरै बाठो हुँदा मुलुकको सम्मानित संस्था राष्ट्रपति र राष्ट्रपतिको कार्यालय विवादमा तानिएको छ । कोरोना महामारीमा विश्वका सबैजसो शक्तिशाली मुलुक खोप कूटनीतिलाई अघि बढाइरहेका छन् । नेपाललगायतका विपन्न र महामारीबाट आक्रान्त मुलुकहरू भने खोप राजनीति गर्न बाध्य छन् ।

महामारीको दोस्रो लहरले छिमेकी मुलुकलाई हावाकावा खेलाइरहँदा हाम्रो मुलुकमा जनता मात्रै होइन, सरकार स्वयम् सयौंको जमघटमा व्यस्त थियो । सरुवा रोग विज्ञहरूले स्वास्थ्य चेतावनी दिइरहँदा त्यसप्रति कसैले वास्ता गरेको देखिएन । बरु उल्टै राजनीतिको फोहोरी जोड घटाउमा बालुवाटार र शीतल निवास जुटेको आरोप लाग्यो ।दिनहुँ झण्डै १० हजारको हाराहारीमा संक्रमण र औसत दुई सयको निधन हुन थालेपछि सर्वत्र हाहाकार मच्चियो । शीतल निवासले बालुवाटारको फोहोरी राजनीतिमा साथ दिएको चर्चा चलेपछि फेस सेभिङकै लागि भए पनि असंवैधानिक पहल गरेको देखियो । अन्य देशको खोप कूटनीतिलाई सम्बोधन गर्ने गरी छिमेकी मुलुक भारत र चीनका साथै अमेरिका,बेलायत र थाइल्याण्डसम्मका राष्ट्राध्यक्षलाई हारगुहार गरेको बताइयो ।

सरकारी हारगुहार अगावै मित्रराष्ट्र चीनले नेपालाई साढे आठ लाख डोज खोप उपलब्ध गराएको थियो भने अन्य धेरै स्वास्थ्य सामाग्री पनि त्यसअघि नै प्रदान गरेको थियो । पछिल्लो पटक थप १० लाख गरी हालसम्म १८ लाख ५० हजार डोज आइसकेको छ । नेपालको जोडबल भने दानमा प्राप्त हुने र किन्ने दुबै खोपप्रतिको ध्यान दक्षिणतिरै देखिन थाल्यो । चीन र रुस खोप बिक्रीको लागि आतुर रहेको सन्देश प्राप्त हुँदा समेत हाम्रो ध्यान त्यसतर्फ गएको छैन ।

यता, महाशक्ति राष्ट्र अमेरिकाले आफूसँग मौज्दात रहेको झण्डै ८ करोड डोज खोप विश्वलाई नै बाँड्ने गरी योजना बनाउँदै थियो । यो उसको रणनीति हो । यो रणनीतिमा कुनै पनि मुलुकले गर्ने विशेष अनुरोधको खासै अर्थ नरहने कूटनीतिज्ञहरूको बुझाई छ । त्यहि क्रममा उसले बिहीबार राती विश्वका विभिन्न मुलुकलाई जुन महिनाभरिमा खोप प्रदान गर्ने बताएको छ । त्यसमध्ये २ करोड ५० लाख डोज खोप तत्काल पठाइने बताइएको छ । त्यसमध्ये एसियाका नेपालसहित १६ वटा मुलुकलाई ७० लाख डोज खोप भनिएको छ ।

तर, राष्ट्रपतिका प्रेस सल्लाहकार ढकालले विना प्रसंग राष्ट्रपतिको आग्रहपछि अमेरिकाले नेपाललाई ५० लाख डोज खोप प्रदान गर्ने भएको घोषणा गरिदिए । त्यसै कारण उक्त घोषणा आधिकारिक नभएकाले नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले हिजो दूतावासबाट बोल्दै उक्त कुराबाट खण्डन भएको छ । बेरीले भनेका छन् ‘नेपाल सहित १६ वटा मुलुकले ७० लाख डोज खोप पाउनेछन् ।’

यो आधारमा मुलुकको जनसंख्याको आधारमा माल्दिभ्सले २ लाख डोज खोप पाउँदा भारतले कम्तिमा १५ लाख डोज पाउने छ भने नेपालले मुश्किले ४ लाख डोज खोप पाउने देखिन्छ । तर, त्यो समाचार वाशिङटनबाट बाहिरिँदा नबाहिरिँदै यता राष्ट्रपतिका प्रेस सल्लाहकारले संख्या नै किटान गरेर सामाजिक सञ्जालमा लेखिदिए । त्यसैगरी परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले अमेरिकी समकक्षी ब्लिकेनलाई विशेष धन्यवाद दिनुभएको थियो ।

तर, त्योभन्दा पाँच गुणा खोप उपलब्ध गराएर धेरै जनालाई सुरक्षित तुुल्याएको चीनको सहयोगप्रति सरकारी अधिकारीहरूले धन्यवाद ज्ञापनको लागि यति धेरै दौडेको देखिएन । जबकी भारतले नै पनि नेपाललाई अमेरिकाले दिनेभन्दा बढी खोप नेपाललाई अनुदानमा उपलब्ध गराइसकेको छ । उसले हामीले खरिदको लागि प्रक्रिया अघि बढाएको खोपको बारेमा भने पेश्कि रकम बुझेर पनि कानुनी अल्झन देखाउँदै रोकेको छ ।

बेमौसममा अर्थहीन ट्वीट गर्ने सरकारी अधिकारीहरूले गत फागुन २३ गतेपछि कोरोन विरुद्धको कोभिशिल्ड पहिलो खोप लगाएका ६५ वर्षभन्दा माथिका लाखौं वृद्धहरूलाई दोस्रो डोज लगाउनेबारे अहिलेसम्म मुख खोलेका छैनन् । तीनलाई लगाइने दोस्रो डोजको खोप जोडजाडमा गरिएको प्रयास भए बरु जानकारी दिएमा वृद्धहरू खुशी हुने थिए की ?

टिप्पणीहरू