मन्त्रीबाट निकालिएकालाई खबरै दिइएन,शपथ नखाई अस्पतालबाटै बिदाइ

मन्त्रीबाट निकालिएकालाई खबरै दिइएन,शपथ नखाई अस्पतालबाटै बिदाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ गर्नुभएको आफ्नो नेतृत्वको क्याबिनेट पुनर्गठनमा जसपाका ८ जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाउनुभएको छ ।

एमालेका चार जनाबाहेक अरु सबै मन्त्रीलाई बिदा गरिएको छ । सुरक्षासम्बन्धी रक्षा र गृह मन्त्रालय आफैँले राख्नुभएको छ । सँगसँगै सञ्चार, पर्यटन,कृषि,उद्योग,वाणिज्य र सामान्य प्रशासन मन्त्रालय पनि अरुको जिम्मामा दिनुभएको छैन ।

बरु विष्णु पौडेललाई उपप्रधानमन्त्री सहित अर्थ,राजेन्द्र महतोलाई पनि उपप्रधानमन्त्री सहित शहरी विकास र रघुवीर महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसलाई उनीहरुले प्रधानमन्त्रीको कृतघ्नताको पराकाष्ठा भनेर टिप्पणी गरेका छन् ।

क्याबिनेटमा हृदयेश त्रिपाठीलाई हटाएर शेरबहादुर तामाङलाई स्वास्थ्यसहित कृष्णगोपाल श्रेष्ठलाई शिक्षा,बसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात,लीलानाथ श्रेष्ठलाई कानून न्याय तथा संसदीय मामिलामा निरन्तरता दिइएको छ ।राजपाका खेलाडी शरतसिंह भण्डारीलाई ऊर्जा मन्त्रालयको जिम्मा दिइएको छ ।

त्यसैगरी राजपाबाट अनिल झा खानेपानी तथा सरसफाई,विमल श्रीवास्तव श्रम तथा रोजगार मन्त्री, उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री,लक्ष्मणलाल कर्ण भूम व्यवस्था मन्त्री,चन्दा चौधरी महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री,एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री र चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री एवम् रेणुका गुरुङ महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्रीको जिम्मेवारीमा रहेका छन् ।

यसअघि आफूभन्दा जुनियर नेतालाई उपप्रधानमन्त्री बनाइएको कुरो बाहिर आएपछि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी प्रधानमन्त्री ओलीको मन्त्री पद अस्वीकार गरेर पछि हटेको बताइन्छ ।

क्याबिनेटमा एमालेको तर्फबाट महिलाको प्रतिनिधित्व भएको देखिँदैन । त्यसैगरी,कर्णाली र सुदूर पश्चिम प्रदेशको प्रतिनिधित्व पनि छुटेको छ । आज भोलि नै प्रधानमन्त्री ओलीका विश्वासपात्र महेश बस्नेत र गोकुल बाँस्कोटालाई गृह,पर्यटन र सन्चारसमेत हुनेगरी समावेश गरेर पुनः मन्त्रीपरिषद् बिस्तार गरिने सम्भावना छ । यसनिम्ति अख्तियारसङ्ग समन्वय भैरहेको छ ।

हिजो मन्त्रीबाट हट्नुअघिसम्म प्रधानमन्त्रीले क्याबिनेटका कुनैपनि सहकर्मीलाई तत्काल जिम्मेवारीबाट हटाइने कुरोको छनकसमेत नदिनुभएको स्रोतको दाबी छ । स्रोत भन्छ ‘कसैलाई पनि यस्तो अवस्था पर्यो, तपाईंलाई जिम्मेवारीबाट हटाउन लागेँ,आजसम्मको साथका लागि धन्यवाद भनेर जानकारी गराइएको थिएन ।’ यसलाई उनीहरुले प्रधानमन्त्रीको कृतघ्नताको पराकाष्ठा भनेर टिप्पणी गरेका छन् ।

त्यसअघि क्याबिनेटमा पहिलो पटक मन्त्री भएका जति सबैलाई हटाउने गाईंगुईं मात्रै चलाइएको थियो । केही समयअघि शेरबहादुर तामाङलाई कानुन मन्त्रालयको जिम्मेवारीबाट बिदा दिएपछि भानुभक्त ढकाल त्यसको छ महिनामा मन्त्री नियुक्त हुनुभयो ।

क्याबिनेटबाट एमाले महासचिव ईश्वर पोखरेल र सचिव तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवालीलाई हटाउनैपर्ने बाध्यता ९चुनाव र संगठनको बहाना० मा प्रधानमन्त्री हुनुहुन्थ्यो । हिजोको फर्मुलामा दुबै जना हटेका छन् । एक जनालाई मात्र हटाउँदा ‘अर्को अर्थ’ लाग्ने भएकाले पहिलेका जति सबैलाई हटाउने चर्चा चलाइएको स्रोतको दाबी छ ।

त्यसअघि शिवमाया तुम्बाहाम्फे उपसभामुखबाट हटेपछि मन्त्री बन्नुभएको थियो । शुरुबाटै मन्त्री बन्नेमा एकजना पद्मा अर्याल पनि हुनुहुन्छ । उहाँ पहिले स्वास्थ्य राज्यमन्त्री,त्यसपछि भूमिसुधार हुँदै पछिल्लो दिन कृषिमा हुनुहुन्थ्यो । भर्खरै मन्त्री बनेका सुदूर पश्चिमे गणेश ठगुन्ना (सामान्य प्रशासन) र प्रेम आले (वन) हरुलाई भने हटाउने कुनै चाईंचुईं नै थिएन । तर,हिजोको होलसेल निर्णयमा उहाँहरु पनि पर्नुभएको छ ।

सामान्य प्रशासन मन्त्री ठगुन्नाले दोस्रो पटकको शपथ ग्रहणसमेत गर्न पाउनुभएको थिएन । अघिल्लो पटकको सपथ ग्रहण समयमा ठगुन्ना कोरोनाको कारण सिभिल अस्पतालमा १८ दिनसम्म हुनुहुन्थ्यो । त्यहि क्रममा बुधबार डिस्चार्ज भएर आराम गरिरहनुभएको थियो । हिजोसम्म मन्त्री रहनुुभएका आले र ठगुन्ना भने साँढेको जुधाई बाच्छाको मिचाइमा परेको अर्थ लगाउन थालिएको छ ।

कसैलाई पनि जानकारी नदिने तर चाहिएको खण्डमा जसरी पनि अंगालो हाल्ने अर्थात् उपयोगिता सकिएपछि फर्केर पनि नहेर्ने सिध्दान्तलाई यसअघि ‘युज एण्ड थ्रो’ भनिन्थ्यो । तर प्रधानमन्त्रीको त्यहि प्रवृत्तिलाई अहिले ‘ओली सिद्दान्त’ भन्न थालिएको छ ।

१५ दिनअघि पूर्वमाओवादी सात जना मन्त्रीलाई एकाएक पदमुक्त गर्ने परिस्थिति र हिजो दिउँसो सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकतासम्बन्धी विधेयकमा भएको बहसलाई हेर्दाहेर्दैको हैसियत दिएर जेठ २७ गते अर्को तारिख तोकेको घटनाक्रमलाई दाँजेर हेर्दा दुई वटैले प्रधानमन्त्रीलाई बाटो खोलिदिएको स्पष्ट हुन्छ । जेठ छ गतेको आदेशले बादलहरुलाई मिल्काउन जति सजिलो भएको थियो, हिजोको अदालतको आदेशले जसपालाई मन्त्रीमण्डलमा सहभागी हुन फेस सेभिङ गराएको देखिन्छ ।

प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीमा राख्नुभएका आधा दर्जनभन्दा बढी मन्त्रालयबाट दुई वा तीन जना पूर्वमाओवादीहरुलाई मन्त्री बनाउनेसमेत तयारी गरिएको बताइन्छ । आजभोलि नै एमालेको तर्फबाट थप मन्त्री नियुक्त गर्ने र बेलुकै शपथ ग्रहण गराउने कार्यक्रम अघि बढेको स्रोतको दाबी छ ।

हिजो हटाइएकामध्ये परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चाहनाअनुसारको छाप छाड्न नसकेको भन्न थालिएको छ । यसबीच भएका राजदूत र परराष्ट्र मामिला प्रतिष्ठानको नियुक्तिवारे बालुवाटारभित्रै चर्चा हुने गरेको थियो । उता मन्त्रालयमा समेत उहाँले बसाल्नुभएको नीतिबारे सबै अचम्भित भएका थिए । राजदूत नियुक्तिमा करियर डिप्लोम्याट जति सबैलाई बाहिर राखेर गरिएपछि ज्ञवालीप्रति मन्त्रालयमा सबै आगो भएका थिए ।

यता,भारतसँग सचिव तहको भ्रमण गराउन समेत उहाँले नसकेको आरोप लाग्दै आएको थियो । त्यो तहमा मन्त्रीले एउटा औपचारिक बैठकसमेत गराउन नसकेको भन्दै कूटनीतिक वृत्तमा उहाँको आलोचना भएको बताइन्छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको भने मन्त्रीमण्डलमा शुरुको प्रवेश नै गलत भएको थियो । उपप्रधानमन्त्री भइसकेको व्यक्ति मन्त्रीमा जानुमा त्यतिबेला नै सबैले अचम्म मानेका थिए । त्यसपछि शीतल निवास र वरिष्ठ नेता माधवकुमार नेपाल समेतको ग्रीन सिग्नलमा उहाँ बल्लतल्ल उपप्रधानमन्त्री बन्नुभएको हो ।

रक्षामन्त्री हुँदा उहाँ जम्मा ३६ जना कर्मचारी रहेको मन्त्रालयमा सीमित हुनुभएको थियो । मन्त्रालयको आन्तरिक काममा सुधारतर्फभन्दा पोखरेलको रुची ठेक्कापट्टामा धेरै देखिएपछि सेनासँग खटपट शुरु भएको सैन्य स्रोतले बताएको छ ।

त्यसपछि प्रधानमन्त्रीको कार्यालय हेर्ने गरी राखिएको सीसीएमसीको संयोजकबाट समेत जिम्मेवारी विमुख बनाउँदा समेत उहाँले मन्त्री पद छाड्ने इच्छा नराखेपछि हिजो होलसेल फर्मुलामा उहाँ हट्न बाध्य हुनुभएको बताइन्छ ।

हिजो आफूलाई हटाउने सुईंको पाएपछि पोखरेलले पार्टी महासचिवको जिम्मेवारीमा रहेकाले आफू मन्त्री छाडेर पार्टीमा आएको भन्ने प्रचार हिजै साँझबाट गराउन थालिएको थियो । तर स्रोत भन्छ,हिजो साँझ अबेरसम्म पनि उहाँ कसै कसैसँग मन्त्रीमण्डलमा अडिने सम्भावना रहेको बताउँदै हुनुहुन्थ्यो ।

पोखरेललाई हटाएर विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाई क्याबिनेटमा दोस्रो तहको जिम्मेवारी दिनुलाई प्रधानमन्त्रीले चुनावको मुखमा पार्टी पंक्तिलाई ‘मेसेज’ दिएको भन्ने बुझाई एमाले वृत्तमा राम्रैसँग फैलाइएको छ । यसको सोझो अर्थ अब ‘ईश्वर पोखरेल’ करबलले मतिर भए पनि मनैदेखि अब कसैको पनि होइन भन्ने नै हो ।

हिजो साँझ रघुवीर महासेठले झण्डै गृहको जिम्मेवारी पाइसकेको बताइन्छ । पछि उपप्रधानमन्त्रीको पोर्टफोलियो दिएर परराष्ट्रमा थामथुम पारिएको चर्चा छ ।

टिप्पणीहरू