मृत अवस्थामा फेला, एक जना प्रहरी नियन्त्रणमा

मृत अवस्थामा फेला, एक जना प्रहरी नियन्त्रणमा

सिन्धुपाल्चोक र म्याग्दीमा एक भारतीय नागरिक सहित दुई जना मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ धौलेका ४० वर्षीया राममाया तामाङ स्थानीय धुसेनीचौरस्थित गोठमा मृत अवस्थामा फेला परेकी हुन् । घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

यस्तै, म्याग्दीमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । बेनी नगरपालिका–१ आनन्दबगरस्थित कालीगण्डकीको किनारमा रघुगंगा नगरपालिका–३, चमेरेस्थित निर्माणाधीन मेची हाइड्रोपावरमा काम गर्ने भारत घर भएका अजितेज भनिने करिब २५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्रिशुलीमा डुबेर एकको मृत्यु

त्रिशुली नदीमा डुबेर एक युवाको मृत्यु भएको छ । नुवाकोटको विदुर नगरपालिका–३, बुनीबेशीस्थित त्रिशुली नदीमा डुबेर बेलकोटगढी नगरपालिका–१३ का २० वर्षीय युकेश तामाङको मृत्यु भएको हो ।

नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको घटनास्थलदेखि करिब डेढ किलोमिटर टाढाको किनारमा शव फेला परेको हो ।

आगलागीमा परी दम्पतीको जलेर मृत्यु

संखुवासभामा आगलागीमा परी दम्पतीको जलेर मृत्यु भएको छ । मादी नगरपालिका–५ च्याङरिङ बस्ने ४६ वर्षीय राजेन्द्रबाबु दाहाल र उनकी श्रीमती ५० वर्षीया कमला भण्डारी दाहालको आगलागीमा परेर हिजो मृत्यु भएको हो ।

दाजु गायत्री दाहालको घरमा बाबुको किरिया बसेका दुवै जना राति घर बाहिर निस्किएको र फर्केर नआएपछि खोजी गर्ने क्रममा उनीहरुको घरमा आगलागी भएको खबर प्राप्त भएको बताइएको छ ।

स्थानीयको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिए पनि आगोमा डढेको अवस्थामा कमलाको शव फेला परेको र राजेन्द्र गम्भीर घाइते भएको अवस्थामा फेला परेका थिए ।

घाइतेलाई स्थानीय मादी पोलीक्लिनिकमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा उनको पनि मृत्यु भएको थियो ।

टिप्पणीहरू