पासपोर्ट नवीकरण भन्दै राजदूत रातदिन कुद्दै

पासपोर्ट नवीकरण भन्दै राजदूत रातदिन कुद्दै

अमेरिकाका लागि राजदूत डा.युवराज खतिवडाले अमेरिकाका विभिन्न राज्यको भ्रमणलाई निरन्तरता दिएका छन् । कन्सुलर सेवा शिविरको नाममा उनी सरकारी खर्चमा श्रीमती र छ जनाको टोली लिएर महिनैपिच्छे अमेरिकाका विभिन्न राज्यको भ्रमणमा निस्केका हुन् । यहि क्रममा अहिले क्यालिफोर्निया पुगेका छन् ।

जुन ४ र ५ तारिखमा क्यालिफोर्नियाको केन्ने स्ट्रिट, नर्वाकस्थित पशुपतिनाथ र बुध्द मन्दिर परिसरमा दूतावासले राखेको शिविर उद्घाटनको लागि उनी त्यसतर्फ गएको वासिङ्गटनस्थित दूतावास स्रोतले जनाएको छ ।अमेरिका बस्ने नेपालीको राहदानी नवीकरण गर्न,अधिकृत वारेशनामा र एनआरएन परिचय पत्र बनाउन,अन्य कागजात प्रमाणिकरण गर्न र पर्यटक भिसा प्रदान गर्न भन्दै अघिल्लो महिनादेखि उनी दौडाहामा निस्केका हुन् ।

महामारीमा अमेरिकाबाट पर्यटक यता आउने कुनै सम्भावना नरहेको बेलामा पनि उनले पर्यटक भिसा प्रदान गर्ने भन्दै सरकारी खर्चमा श्रीमतीसहित दूतावासका अन्य चार जना कर्मचारी लिएर क्यालिफोर्निया पुगेको र यसअघि शिकागोसहित टेक्सासको ह्युस्टनलगायतका सहरको भ्रमण गरेको देखिन्छ ।

हुलाक सेवा र अत्याधुनिक प्रविधिको उच्चतम प्रविधियुक्त अमेरिकामा दूतावासबाटै छिटो छरितो सेवा प्रदान गर्नुपर्नेमा नेपालका विकट हुम्ला,डोल्पा जिल्लामा झैँ शिविरको नाममा लाखौं रुपैयाँ खर्चेर खतिवडाको अमेरिका सयरलाई त्यहिँका नेपालीले समेत खिसिट्युरी गरेका छन् ।

गत वर्ष आफू अर्थमन्त्री छँदा विदेशस्थित दूतावासमा फजुल खर्च भएको भन्दै परराष्ट्रका पदाधिकारीहरूलाई पटक पटक हप्काएका खतिवडा अहिले आफैँ त्यस्तो खर्चतिर उध्यत भएपछि काठमाडौंस्थित परराष्ट्र मन्त्रालयको उच्च तहका कर्मचारीले ‘ती सबै भन्ने कुरा हुन्’ को शैलीमा प्रतिक्रिया जनाएका छन् ।

अहिले खतिवडाले झैँ दुई दर्जनभन्दा बढी देशमा रहेका नेपाली दूतावास र कूटनैतिक नियोगहरूले यसैगरी आफू तैनाथ मुलुकभरि पासपोर्ट नवीकरण र भिसा प्रदान गर्ने नाममा शिविर चलाउने हो भने खर्च कुन ढंगले बढ्ला ? भनेर सोधिएको जिज्ञासामा अर्थ मन्त्रालयको उच्च स्रोतले भन्यो ‘हामी हेर्न सक्छौं, पढ्न सक्छौं तर यो विषयमा बोल्न सक्दैनौं ।’

यता खाडी राष्ट्र र मलेसियालगायत धेरै नेपाली कामदार रहेका देशमा त्यो खालको कार्यक्रम तय गर्दा सबैलाई पच्ने विषय अमेरिकाको हकमा नपचेको अमेरिकाका लागि एकजना पूर्वराजदूतले बताए । उनका अनुसार खतिवडा अर्थमन्त्री हुँदा ती श्रमिकको लागि त्यस्ता कार्य गर्न खोज्दा कतिपय राजदूतलाई नै उनले चेतावनीयुक्त शैलीमा खर्च नगर्नु भन्ने सन्देश परराष्ट्रमार्फत् दिन लगाएका थिए ।

टिप्पणीहरू