विप्लवबाहेक उनका प्राय: सबै नेतालाई कोरोना

विप्लवबाहेक उनका प्राय: सबै नेतालाई कोरोना

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अधिकांश नेतालाई कोरोनाले सताएको छ ।

सो पार्टी निकट स्रोतका अनुसार विप्लवबाहेक हाइकमाण्डका सबै नेता अहिले संक्रमित छन् । दोस्रो वरियताका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड,तेश्रो नम्बरका धर्मेन्द्र बाँस्तोला,सन्तोष बुढा मगर लगायतका नेताहरु संक्रमणको शिकार भएको बताइएको छ ।

त्यस्तै,सो पार्टीको भ्याली कमाण्डर चिरन पुन,शिक्षकका नेता भेषराज भुसाललगायतका नेताहरु पनि संक्रमित छन् । नेपालगन्जस्थित आफ्नै निवासको आइसोलेसनमा रहेका बाँस्तोलाको पूरै परिवार संक्रमित भएको बताइन्छ ।

सिभिल अस्पतालमा उपचाररत चिरनको अवस्था गम्भीर रहेको निकट स्रोतले बताएको छ ।

सिभिल अस्पतालमा उपचाररत चिरनको अवस्था गम्भीर रहेको निकट स्रोतले बताएको छ । उहाँको भेन्टिलेटरको सहायताले उपचार भैरहेको बुझिएको छ ।

मुलुक कोरोना महामारीले आक्रान्त बनिरहेका बेला उच्च पदस्थदेखि सर्वसाधारणसम्म संक्रमणको शिकार बनिरहेका छन् । यसअघि पूर्वराजाको परिवार पनि संक्रमित भएको थियो । नर्भिकमा उपचार गराएको पूर्व राजपरिवार जेठको पहिलो साता संक्रमणमुक्त भएर घर फर्केको हो ।

त्यस्तै,मन्त्री र दलका नेताहरु पनि कोरोना महामारीको चपेटामा परेका छन् । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल झण्डै तीन हप्ताको अस्पताल बसाइपछि जेठको पहिलो साता कोरोना जितेर घर फर्किनुभएको थियो ।

उर्जा,जलश्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी,महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल र खानेपानी मन्त्री मणि थापालाई पनि कोरोना भएको थियो । उहाँहरु हाल संक्रमणमुक्त भैसक्नु भएको छ ।

कोरोना संक्रमित काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भर्खरै संक्रमणमुक्त हुनुभएको छ । घरमै बसेर उहाँले कोरोना जित्नुभएको हो । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको कोरोनाकै कारण ज्यान गएको छ । मेडिसिटी अस्पतालमा लामो समयसम्म गरिएको उपचार सफल नहुँदा थापाको अस्ति निधन भएको हो ।

टिप्पणीहरू