चम्पादेवी जंगलमा युवतीको लाश भेटियो

चम्पादेवी जंगलमा युवतीको लाश भेटियो

कीर्तिपुरको चम्पादेवी जंगलमा एक युवतीको शव फेला परेको छ । कीर्तिपुर नगरपालिका-४ मच्छेगाँउबाट करिव २ किलोमिटर माथि चम्पादेवी जङ्गलको खरिको रुखमा लहराले घाँटीमा पासो लगाएकी रुकुम सिस्नेकी १८ वर्षीया अस्मिता बुढा मगरको शव भेटिएको हो ।

जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आज दिउँसो २ बजे घाँस काट्न गएका बेला स्थानीय कृष्ण बानियाँलगायतले झुन्डिएको शव देखेपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै चम्पादेवी जंगल पुगेको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको बताएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा अस्मिताको केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ ।

अनुहार कुहिन लागेकाले केही दिनअघि नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार एक वर्षदेखि कीर्तिपुर अस्पतालमा फार्मेसी डिप्लोमा अध्ययन गरिरहेकी मृतक अस्मिता च न पा-१५ बिष्णुदेवीमा सानी आमासंग बस्दै आएकी थिइन् । जेठ १६ गते आइतबार कोठाबाट निस्किएर बेपत्ता भएकी उनको हिजो लाश भेटिएको हो ।

अस्मिताका आफन्तले भने आत्महत्या नभई हत्या भएको आशंका गरेका छन् । अस्मिताले केटासँग झगडा परेको कुरा फोनबाट बताएकाले हत्या हुनसक्ने उनका बाबुले प्रहरीलाई बताएका छन् ।

अस्मिताको फेसबुक आइडीमा अपरिचित केटाको फोटो रहेको, केटाले अस्मिताको आइडी चलाउने गरेको देखिएको भन्दै उनले हत्याको आशंका गरेका हुन् । अस्मिताका आफन्तले प्रहरीलाई दिएको बयानमा केटा बीरगन्जको भन्ने थाहा पाए पनि अन्य जानकारी नभएको बताएका छन् ।

मृतकको साथमा मोबाइल फोन र थोरै युरिया जस्तो वस्तुसमेत फेला परेकाले घटना शंकास्पद रहेको छ ।

टिप्पणीहरू