नेपाल समूहको बैठकमा ८६ जना, घनश्याम भुसालको भनाइ यस्तो

नेपाल समूहको बैठकमा ८६ जना, घनश्याम भुसालको भनाइ यस्तो

नेकपा एमालेको माधव नेपाल पक्षधर केन्द्रीय कमिटी बैठक बसिरहेको छ । बिहान ११ बजेदेखि शुरु भएको भर्चुअल बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी एकताका लागि भएका प्रयास र सम्भावनाबारे नेताहरूले आफ्ना धारणा राखिरहेका छन् ।

अहिले केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेको बैठकमा सहभागी एक नेताले बताए ।

एकता जोगाउन भन्दै ओली पक्षका नेताहरुसँग निरन्तर छलफलमा रहनुभएका नेताहरु घनश्याम भुसाल,सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई पनि बैठकमा सहभागी हुनुहुन्छ । भुसालले भर्खरै आफ्ना धारणा राख्नुभएकोछ ।

केन्द्रीय सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै भुसालले आफूहरुले पार्टी एकता बचाउन गरेको इमान्दार प्रयासलाई ओली पक्षले दाउपेचका रुपमा लिएकाले ओलीसँग मिल्ने सम्भावना कमजोर बनेको बताउनुभएको छ । बैठक स्रोतले भनेअनुसार भुसालले याक एण्ड यतिमा सोमवार बेलुका भएको छलफलपछि आफूले ओली पक्षका नेताहरुसँग दोहोर्याएर कुनै भेटघाट नगरेको पनि बताउनुभएको छ ।

‘याक एण्ड यति भेटघाटपछि फेरि भेटिएको भन्ने कुरा गलत हो,त्यो छलफलमा देउवाका पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने उहाँहरुको शर्त थियो । हामीले संसद विघटन रोक्नका लागि हस्ताक्षर गरेकाले फिर्ता नहुने कुरा बताएका हौँ । त्यसपछि कुराकानी भएको छैन’,भुसालको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो ।

बैठकमा अधिकांश केन्द्रीय सदस्यले नयाँ पार्टी गठन गरेर जानुपर्नेमा जोड दिएको बताइएको छ । कतिपयले भने एकता या बिद्रोह जे गरे पनि छिटो निर्णय गर्न नेताहरुलाई सुझाव दिएका छन् ।

अझै अलमल गर्दा आफ्नो समूहलाई क्षति हुने भन्दै केन्द्रीय सदस्यहरुले जे निर्णय गरे पनि छिटो गर्न सुझाव दिएको बैठकमा सहभागी नेताले जानकारी दिए । बैठकमा ८६ जना केन्द्रीय सदस्यले भाग लिएका छन् ।

टिप्पणीहरू