माओवादीको जम्मै मन्त्रालय मधेशीलाई

माओवादीको जम्मै मन्त्रालय मधेशीलाई

अघिल्लो सातादेखि जसपाको महन्थ ठाकुर,राजेन्द्र महतो समूह मन्त्रीमण्डलमा सहभागी हुने चर्चाले आजसम्म मूर्तरुप लिएको छैन । अझै शपथको टुंगो लागेको छैन । यी सबै प्रकरणमा बालुवाटारले नयाँ नयाँ खोचे थाप्न थालेको ठाकुर,महतो समूहका नेताहरुले बताएका छन् । उनीहरु भन्छन ‘हामीलाई अझै खेलाउने र रिंगाउने तिकडम शुरु भएको हुनसक्छ ।’

उनीहरुका अनुसार जसपा सरकारमा जान तयार भएपछि एकाएक बालुवाटारले वरिष्ठ नेता माधवकुमार नेपालतिर नयाँ कार्ड फालेको छ । यसबाट नेपाल पक्षलाई झैं आफूहरुलाई पनि रिंगाएको अर्थमा उनीहरुले बुझेको बताएका छन् । पछिल्लो पटक बालुवाटारले ‘तिमीहरुको आधिकारिकताको लफडा टुंग्याउनुपर्यो भनेर अत्तो थापेको’ जसपा नेताहरु बताउँछन् । त्यहि भएर हिजो निर्वाचन आयोगलाई फाष्ट ट्रयाकमा जसपाको समस्या समाधान गरिदिन आदेश गएको हो ।

जसपा र बालुवाटारबीच मध्यस्थकर्ता र सञ्चारवाहकको भूमिका निभाउँदै आएका एक जना नेता भन्छन् ‘प्रधानमन्त्रीले सबैलाई नचाई नचाई थकाउने भए ।’

यसबीचको सहमतिअनुसार जसपालाई आठ वटा मन्त्री र दुई वटा राज्यमन्त्री कन्फर्म भएको छ । त्यसमध्ये पूर्वमाओवादी मन्त्रीले छाडेकामध्ये गृह मन्त्रालयबाहेक सबै हो । गृहको सट्टा जसपाले भौतिक योजना मन्त्रालयको माग गरेको बताइन्छ ।

तर एमालेका मन्त्री वसन्त नेम्वाङले मन्त्रालय छाड्न नमानेको कारण बालुवाटार अप्ठेरोमा परेको बताइन्छ । त्यसैले भौतिक योजनाको विकल्पमा पर्यटन मन्त्रालय प्रस्ताव गर्ने सम्भावना देखिन्छ । उद्योग मन्त्रालय दिने मनस्थिति पनि प्रधानमन्त्रीले बनाउनुभएको स्रोतको दाबी छ ।

यता स्वास्थ्य मन्त्रालयको दाबी गर्दै आएका सर्वेन्द्रनाथ शुक्लाको माग सम्बोधन नहुने भएको छ । शुक्लाले स्वास्थ्यमा बारम्बार दाबी गरेपछि मन्त्री हृदयेश त्रिपाठीले अस्ति महन्थ ठाकुरसँग भेटेर आफ्नो मन्त्रालयमा दावी नगर्न अनुरोध गरेको र कुरो मिलेको बताइन्छ ।

पछिल्ला घटनाक्रमले अब पूर्वमाओवादी मन्त्रीहरु दोहोरिने स्थिति देखिँदैन । जसपा नेता राजेन्द्र महतोले भने उपप्रधानमन्त्रीसहित गृह ताकेका थिए । तर,चुनावको मुखमा गृह चलाउन नसक्ने भन्ने प्रधानमन्त्रीको सन्देशपछि उनी उपप्रधानमन्त्री तथा अन्य एउटा जुन मन्त्रालय भए पनि हुने मनस्थितिमा पुगेका हुन् ।

यसबीच जसपाका प्रभावशाली भनिएका अनिल झालाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने सम्भावना बढेको छ । महन्थ ठाकुरका सम्धी उमाकान्त झामार्फत् चर्को दबाब दिएपछि झालाई उद्योगको जिम्मा आउने सम्भावना रहेको स्रोतले बताएको छ ।

टिप्पणीहरू