मुख्यमन्त्री जोगाउन तम्सिएका थापाको पद गयो

मुख्यमन्त्री जोगाउन तम्सिएका थापाको पद गयो

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त भएका छन् । पार्टीको निर्देशन अटेर गरी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको पक्षमा उभिएका थापालाई जनमोर्चाले कारवाही गरेको हो ।

थापालाई कारवाही गरेको पत्र जनमोर्चा गण्डकी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयमा पठाइसकेको बताइएको छ । भर्खरै शुरु भएको प्रदेशसभा बैठकमा सभामुख नेत्र अधिकारीले उक्त पत्र वाचन गरेर सुनाउनुभएको छ ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा उभिने पार्टीको निर्णय विपरित थापा सरकार बचाउने भूमिकामा लागेपछि जनमोर्चाले उनलाई यसअघि नै निलम्बन गरेको थियो ।

प्रदेशसभामा अविश्वासको प्रस्तावउपर छलफलको कार्यसूची रहेकै दिन थापा ‘गायव’ भएका थिए । बिरामीको बहाना बनाएर थापाले सरकार जोगाउन ‘नाटक’ गरेको जनमोर्चाका नेताहरुको भनाइ थियो ।

दोश्रोचोटिको अविश्वासमा हस्ताक्षर नगरी थापा एकैचोटि बाग्लुङ्गमा फुत्त प्रकट भएका थिए ।

थापाले हस्ताक्षर नगरेकै कारण एमाले सरकार जोगिएको थियो ।

टिप्पणीहरू