नेपाल समूहको बैठक जारी, बालुवाटारको चार बजे

नेपाल समूहको बैठक जारी, बालुवाटारको चार बजे

नेकपा एमालेमा माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । बिहान ११ बजेदेखि शुरु भएको भर्चुअल बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी एकताका लागि भएका प्रयास र सम्भावनाबारे नेताहरूले धारणा राखिरहेको बताइएको छ ।

पार्टी एकताको अन्तिम प्रयास भन्दै दुवैतिर दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला आज ओली पक्षले पनि ४ बजे स्थायी समितिको बैठक बोलाएको छ ।

पार्टी एकतालाई लिएर दुवै समूहभित्र दुई धार रहेको बताइन्छ । ओली समूहमा अध्यक्ष ओलीसहितका अधिकांश नेता बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल,भीम रावल लगायतका नेताहरुसहितको एकताको सम्भावना अन्त्य भएको निष्कर्षमा पुगेको बताइन्छ । तर, सो समूहका दोस्रो तहका ३-४ जना नेता भने अझै पनि सिंगो एकताका लागि भन्दै नेपाल पक्षका नेताहरुसँग अनौपचारिक छलफल गरिरहेका छन् ।

नेपाल समूहमा पनि वरिष्ठ नेताद्वय खनाल र नेपालसहितका अधिकांश नेताहरु ओलीसँग मिल्न नसकिने निष्कर्षमा पुगेको बताइन्छ । सो समूहमा तत्काल पार्टी गठन गरेर जान कार्यकर्ताहरुको चर्को दबाब बढेको छ । तर दोस्रो तहका नेताहरु घनश्याम भुसाल,योगेश भट्टराई,सुरेन्द्र पाण्डे र गोकर्ण बिष्ट भने तत्काल नयाँ पार्टी गठन गर्ने कुरामा सहमत नरहेको चर्चा छ ।

पार्टी विभाजन र एकताको प्रयास संगसंगै अघि बढिरहेको चर्चा चलेका बेला आजको बैठकलाई चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू