लम्किचुहाका मेयर निषेधाज्ञा तोड्दै,रिबन काट्दै

लम्किचुहाका मेयर निषेधाज्ञा तोड्दै,रिबन काट्दै

कैलालीको लम्किचुहा नगरपालिकाका मेयरले निषेधाज्ञा उल्लंघन गर्दै रिबन काट्न थालेका छन् । केहि दिनअघि निषेधाज्ञा कडा गरेको भन्दै प्रहरीलाई थर्काएका मेयर महादेव बजगाईले निषेधाज्ञा उल्लंघन गर्दै रिबन काटेका हुन् ।

बजगाईंले जनप्रतिनिधि,कर्मचारी र स्थानीयको भेला गराएर बिहीबार नगरपालिकाको वडा नम्बर १ मा निर्मित बसपार्क,वडा कार्यालय भवन र स्वास्थ्य इकाइ केन्द्रको भवन उद्घाटन गरेका छन् ।

सर्वसाधारण र धेरै जना प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रमबारे जानकारी लिन खोज्दा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आफू त्यसबारे बेखबर रहेको बताउनुभएको छ ।

उता इलाका प्रहरी कार्यालय लम्कीले पनि कार्यक्रमबारे अनभिज्ञता जनाएको छ । लम्की चौकीका प्रहरी निरीक्षक भरत शाहले निषेधाज्ञाको पूर्णरुपमा पालना भएको बताउँदै मेयरको कार्यक्रमबारे कुनै जानकारी नभएको बताउनुभएको छ ।

नगर प्रमुख बजगाईंले भने आफूले कार्यक्रम उद्घाटन नगरेको बताएका छन् । २०/२५ जनाको उपस्थितिमा मात्र कार्यक्रम गर्ने बताएका उनले ठेकेदारलाई भुक्तानीको प्रक्रिया अघि बढाउनुपर्ने भएकाले औपचारिकताको लागि रिबन काटेको र पूजापाठ गरेको उल्लेख गरेका छन् ।

त्यस बखत नजिकैका स्थानीयलाई बोलाएर बजेट निर्माणको लागि सुझाव संकलन गरिएको उनले स्वीकारेका छन् ।

टिप्पणीहरू