सम्पूर्ण एकता अर्थात माधवसहितको एकता : गोकर्ण बिष्ट

सम्पूर्ण एकता अर्थात माधवसहितको एकता : गोकर्ण बिष्ट

पार्टीलाई फुटको डिलबाट फर्काउने प्रयासस्वरूप संस्थापन पक्षसँग छलफलमा रहनुभएका एमाले नेता गोकर्ण बिष्टले वरिष्ठ नेता माधव नेपाल बिनाको एकताको कल्पना नगरेको बताउनुभएको छ ।

अध्यक्ष केपी ओली पक्षका नेताहरुले झलनाथ खनाल,माधव नेपाल,भीम रावलसहितको एकताको सम्भावना नरहेको बताइरहेका बेला बिष्टको यस्तो प्रतिक्रिया आएको हो । नेपाल समूहका अधिकांश नेता ओलीसँग एकताको सम्भावना बाँकी नरहेको निष्कर्षमा पुगे पनि बिष्टसहित दोस्रो पुस्ताका नेताहरु अझै वार्ता र छलफलमै छन् ।नेपाल समूहको हिजो सम्पन्न जनवर्गीय संगठनका पदाधिकारीहरुको भेलामा ओली पक्षसँग वार्तामा रहेका चार नेताको भूमिकाबारे प्रश्न उठेको थियो । वरिष्ठ नेताद्वय खनाल र नेपाल, कार्यदलका संयोजक रावललाई नै कारवाही गरिसकेको अवस्थामा अन्य नेताले गरेका छलफलको अर्थ नहुने भेलामा सहभागी अधिकांशको भनाइ थियो ।

तर बिष्टले भने पार्टीको एकता बचाउन आफ्नो तर्फबाट पहल गरेको बताउनुभएको छ। आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले भ्रमपूर्ण प्रचार गरेको बताउनुभएको छ।

‘मेरो नामसमेत जोडेर केही सञ्चार माध्यममा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले,किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला’,उहाँले भन्नुभएको छ ।

पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने आफूहरुको अडान अहिले पनि कायम रहेको र त्यसैमा सहमति जुटाउन छलफल भएको उहाँको भनाइ छ । उहाँले भन्नुभएको छ, ‘पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र,जनता,लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशासहितको सवल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’

नेपाल पक्षका अधिकाँश नेताहरु नयाँ पार्टी गठन गरेर जानुपर्ने पक्षमा छन् । हिजोको भेलामा पनि अधिकांशले नयाँ पार्टी गठन गर्न सुझाव दिएको एक सहभागीले बताए । ‘आफू कमजोर हुँदा वार्ताको कार्ड फ्याँक्ने र पछि कार्यान्वयन नगर्ने ओलीको विगतले देखाइसकेकाले उनको भुलभुलैयामा पर्नु हुँदैन भन्ने प्राय: सबैको सुझाव थियो’,ती नेताले भने।

उनका अनुसार पार्टी गठन गर्न जति ढिला गर्यो त्यति नै आफ्नो समूहलाई घाटा लाग्ने भन्दै वरिष्ठ नेता नेपाललाई सहभागीहरुले सचेत गराएका थिए । यता, बिष्टसहित सुरेन्द्र पाण्डे,घनश्याम भुषाल र योगेश भट्टराई भने पार्टी एकताको प्रयास भन्दै ओली समूहका नेताहरुसँग निरन्तर संवादमा छन् ।

टिप्पणीहरू