आइजी सा”ब पैसा उठाउन मान्छे खटाएको हो र !

आइजी सा”ब पैसा उठाउन मान्छे खटाएको हो र !

देश कोरोना कहर र राजनीतिक अस्थिरताले थला पर्न लागेको बेला सशस्त्र प्रहरीमा बढुवाको खेल शुरु भएको छ ।

लामो समयदेखि हलचोकस्थित मानवस्रोत तथा प्रशासन विभागभित्रको गोप्य शाखामा कार्यरत कर्मचारीले दररेट नै कायम गरी राज्यभरका कार्यालयमा लेखा र संचार शाखामार्फत रकम असुली गर्दै आएका थिए । अहिले पनि सई सुनिलकुमार कार्कीले बढुवा प्रयोजनका लागि आफ्ना सहकर्मीसंग माथिल्लो निकायसम्म पुर्याउन भन्दै रकम उठाउन थालेको जानकारी पायौँ ।

इन्स्पेक्टरमा बढुवाको तयारी गरिरहेको बेला ज्येष्ठताको आधारमा धेरै पछाडिका यी कार्कीले सशस्त्र प्रहरीमा कार्यसम्पादन मूल्याङ्कन र ज्येष्ठताले खासै स्थान नपाउने र त्यसको लागि आइजीलाई पैसा बुझाउने भन्दै आकांक्षीहरुसँग प्रतिव्यक्ति ५० हजारका दरले उठाउन उपत्यका र बाहिर सिसं ४का तालिम र ग्रेडिङमा पछाडि परेका व्याजीहरुसंग सम्पर्क बढाउन थालेका छन् ।

उनले महोत्तरीस्थित गणका एक असईसँग घुमुवाको लागि सिफारिस गरिदिने भन्दै पचास हजार रुपैयाँ मागेको समेत जानकारीमा आएको छ । उनले आफू एक जना एआइजीको खास मान्छे भएको भन्दै रकम मागेको समेत खुलेको छ । कीर्तिपुरको चोभारस्थित गणबाट महोत्तरी सरुवा भएपनि उनलाई ती एआइजीले उपत्यका बाहिनीमा २०७७ माघमा सरुवा गरिदिएका थिए ।

कार्कीले निर्वाचन आयोग परिसरभित्र रहेको बाघभैरव गुल्ममा रहँदा आफू नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको मान्छे भन्दै सिपाहीहरुसँग तराईको मालदार अड्डामा सरुवा गरिदिने नाममा पैसा उठाउँथे । गुल्ममा रहँदा नै पैसा लिएर भत्ता आउने विभिन्न एम्बेसीहरुमा ड्युटी पठाउने गरेका थिए ।

माथिल्लो दर्जाका कर्मचारीहरुबाट उपेक्षा र थिचोमिचो सहेर लामो समयसम्म एउटै दर्जामा बस्न सहज छैन । संगठनमा हामी डेढ दशकसम्म बढुवा तथा बृत्ति विकासको लागि पालो कुरेर बसेका छौं । ऐन,नियमअनुसार कार्यक्षमता,दक्षता र योगदानलाई आधार बनाएर बढुवा गर्न र कसैलाई पनि मर्का नपार्न सशस्त्र प्रहरी बल प्रधान कार्यालय र सरोकारवाला निकायहरुसँग जोडदार माग गर्दछौं ।

हामीले जागिर खाएदेखि काठमाण्डौ उपत्यकामा सरुवा पनि पाएनौँ । लामो समयसम्म देश र जनताको सेवा र सुरक्षामा दिन,रात,घाम,पानी नभनी खटियौं । कसैको चाकडी,चाप्लुसी र चम्चागिरी गरेनौँ । कहीँ कतै बेस,बिओपी कमाण्डका लागि माग दावी र लबिङ्गसमेत गरेनौँ । सेवामा निरन्तर खटिएकोले घुस दिने पैसा संकलन पनि गर्न सकेनौँ ।

बाहिरबाट समेत तालिम लिएर संगठनको लागि त्याग गर्यौँ । तालिममा सधैं अब्बल नतिजा ल्याएर सेवा गर्ने हामीजस्ता कर्मचारीको मनोबल बढाउन तालिममा प्राप्त ग्रेडिङ्ग र फिल्डमा सेवा गरेको क्षेत्र,अवधि र संगठनलाई दिएको उपलव्धिहरुलाई समेत ध्यानमा राखी निष्पक्ष बढुवा गरिदिनुहुन सादर अनुरोध गर्दछौँ ।

-सिरियल संख्या ४
सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समूह

टिप्पणीहरू