स्वार्थको रोटी सेक्नेहरुलाई समयको “सलाम” !

स्वार्थको रोटी सेक्नेहरुलाई समयको “सलाम” !

सत्ताका लागि पर्दापछाडि राजनीतिका घृणित खेलहरु कुन हदसम्म हुन्छ भन्ने कुराको उदाहरण नेपालमा कति छन् कति ! लाशमाथि राजनीति गरेर सत्तास्वार्थ पूरा गर्ने नेपाली राजनीतिको विशेषताजस्तै भैसकेको छ ।

राजनीतिमा नैतिकताको प्रश्न कमजोर बनेपछि सत्ता स्वार्थका अनेक खेलहरु हावी हुन्छन् । नैतिकताको सीमा कुल्चेर आफ्ना नीति,सिद्धान्त,विचार,राजनीति र अडान विपरित राजनीतिक शक्तिहरुले सत्ताका लागि अनैतिक सौदावाजी गरेपछि राजनीति त दुषित हुन्छ नै,मुलुकले पनि दु:ख पाउँछ । अहिले त्यस्तै दुषित राजनीतिको शिकार भैरहनु परेको छ ।

“अहिले उहाँसमेतको मन्त्रिपरिषदले निर्णय गरी कानुनी प्रक्रिया मिलाउँदै चौधरी थुनामुक्त भए भने पीडितको घाउमा नुनचुक लाग्छ कि मल्हम ?”

कुनै बेला पूर्व र पश्चिम मुख फर्काएर बसेका दुई राजनीतिक शक्ति एमाले (ओली) र जसपाको महन्थ ठाकुर खेमाबीचको घनिष्ठता अहिले अचम्मसँग झाँगिएको छ । दुई समूहका घोषित बिचार,सिद्धान्त,दर्शन, राजनीति र अडानका आधारमा हेर्दा उनीहरुबीचको मिलन त्यति प्राकृतिक लाग्दैन । जे लागे पनि दुई शक्ति अहिले एक हुने दिशामा छन् ।खासगरी ढल्न लागेको ओली सरकार महन्थहरुले थामिदिने र महन्थहरुका माग प्रधानमन्त्री केपी ओलीले पूरा गर्दिने सहमतिका आधारमा दुई पक्षको मिलन बनेको बताइएको छ । भित्र-भित्र मिलाइदिने शक्ति अर्कै छ भन्ने चर्चा त छँदैछ । खैर जेहोस्, मूल कुरा आन्तरिक नै हुन्छ ।

संविधान संशोधन,रेशम चौधरीको रिहाइ र नागरिकता अध्यादेश महन्थहरुको मुख्य माग भनिएको छ । जसमध्ये चौधरीको रिहाइबाहेक अन्य दुई माग पुरा गर्ने प्रक्रियामा सरकार अघि बढिसकेको महन्थ खेमाका नेताहरुले बताइरहेका छन् । चौधरीको रिहाइको प्रक्रिया थाल्ने भनेको पनि लामो समय भैसक्यो तर अहिलेसम्म केही अत्तोपत्तो छैन ।

प्रधानमन्त्री ओलीले नचाहेका कारण सांसद चौधरी छुट्न नसकेको भन्नेहरु पनि छन् । यसै सन्दर्भमा सञ्जाल प्रयोगकर्ताहरुले टीकापुर घटनाबारे एमालेको तत्कालीन धारणा सामाजिक सञ्जालमा ल्याएका छन् ।

५ जेठ २०७४ मा सचिवका हैसियतले अहिलेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जारी गरेको एउटा प्रेस वक्तव्यमा रेशम चौधरीलाई छाड्ने तत्कालीन सरकारको निर्णयप्रति एमालेको आपत्ति रहेको बताइएको छ । त्यतिबेला त्यस्तो कडा विज्ञप्ति निकाल्ने ज्ञवाली अहिले चौधरीलाई छुटाएर महन्थहरुलाई गुण तिर्ने प्रधानमन्त्रीको प्रयासको समर्थक हुनुहुन्छ ।

ज्ञवालीले त्यति मात्र भन्नुभएको छैन,उहाँले जारी गरेको वक्तव्यमा चौधरी आपराधिक घटनामा संलग्न भएको दाबी गर्दै राजनीतिक आवरणमा उन्मुक्ति नदिन सरकारलाई चेतावनी दिइएको छ । उहाँले विधिको शासन,सर्वोच्च अदालत र मानव अधिकार आयोगका फैसलाहरुको नजिर देखाउँदै चौधरीलाई छाड्न नमिल्ने दाबी गर्नुभएको छ।

चौधरीलाई थुनामुक्त गरे न्यायको पर्खाइमा बसेका पीडितहरुको आलोघाउमा नुनचुक दलेजस्तै हुने ज्ञवालीको वक्तव्यमा छ । अहिले उहाँसमेतको मन्त्रिपरिषदले निर्णय गरी कानुनी प्रक्रिया मिलाउँदै चौधरी थुनामुक्त भए भने पीडितको घाउमा नुनचुक लाग्छ कि मल्हम ? नैतिकता सिध्दिएको राजनीतिमा यस्ता प्रश्नको अर्थ त के रहला र ? चौधरी छुट्नु पर्छ कि पर्दैन, छुट्न सक्छन् या सक्दैनन्, फरक बहसको विषय हो ।

तर,सत्ताका लागि लाशमाथि राजनीति गर्नेहरुले नै नैतिकता सिकाउँदा चैं उदेक लाग्ने !

टिप्पणीहरू