माडीका मेयरमाथि खनियो विप्लवको पार्टी

माडीका मेयरमाथि खनियो विप्लवको पार्टी

चितवनको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद पौडेलमाथि भूमाफियासँग सांठगाँठ गरेर आर्थिक अनियमितता गरेको आरोप लागेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनले कर्मचारीलाई दबाब दिएर किर्ते हस्ताक्षर गराई पौडेलले भूमाफियासँगको मिलेमतोमा रकम लिएको प्रमाण फेला परेको दाबी गर्दै यस्तो आरोप लगाएको हो ।

ईन्चार्ज रमाको हवाला दिँदै आज जारी एक विज्ञप्तिमा माडी नगरपालिकाभित्र खेतीयोग्य जमिन खण्डिकरण गर्न नदिने नगरसभाबाट भएको निर्णय विपरित मेयरले १३१ कित्ता जमिन खण्डिकरण गर्न र पुरानो मितिमा कर्मचारीलाई हस्ताक्षर गर्न दबाब दिएको दाबी गरिएको छ ।

साथै मेयर पौडेलले हस्ताक्षर गर्न नमान्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाएको र केही वडाध्यक्षलाई साथ लिएर भूमाफियासँग रकम मागेको प्रमाण फेला परेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

पार्टीको धारणा सार्वजनिक गर्न जारी गरेको भनिएको उक्त विज्ञप्तिमा सयौँ बिगाहा जमिन खण्डिकरण गर्न मेयर पौडेलले कर्मचारीलाई हस्ताक्षर गर्न दिएको दबाब तत्काल रोक्न अनुरोध गरिएको छ । त्यस्तै,दबाब दिंदा नमान्ने कर्मचारीलाई कुनै निकायको बैठक नै नबसी टिपेक्स लगाएर हटाउनेजस्ता किर्ते हर्कत गरेको आरोप लगाउँदै सो पार्टीले त्यस्ता कार्य तत्काल बन्द गर्न भनेको छ ।

‘विभिन्न शर्त राखी माडी नगरपालिकाले बिगतमा पनि जमिनको खण्डिकरण गर्न अनुमति दिएको थियो । तर सहमतिअनुसार काम नगरेको र त्यो रकम आपसमा मिलेमतो गरी दुरुपयोग गरेको प्रमाण हाम्रो पार्टीलाई स्थानीय जनताले उपलब्ध गराएका छन्’,विज्ञप्तिमा भनिएको छ, ‘विगतमा गरिएका उक्त कमजोरीनिम्ति जनताका वीचमा माफी माग्न र चलखेल गरिएको सम्पूर्ण रकम सार्वजनिक गरी पारदर्शी ढंगले कुनै सार्वजनिक संस्थामा उपलब्ध गराउन अनुरोध गर्दछौँ ।’

नगरपालिकाले माफी नमागे जनताले गर्ने आन्दोलनमा पार्टीको ऐक्यवद्धता रहने चेतावनी सो पार्टीले दिएको छ । साथै आवश्यक परे आन्दोलनको नेतृत्व गर्ने चेतावनी पनि दिइएको छ ।

‘नापी,मालपोत कार्यालय र नगरपालिकाभित्रका केही दलालले अनैतिक,भ्रष्ट गतिविधि तत्काल नरोके जनताले प्रतिरोध गर्ने नै छन् । यसमा सम्बन्धित सबै निकायको बेलैमा ध्यानाकर्षण गराउँछौँ ‘, विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू