बिचरा ईश्वर

बिचरा ईश्वर

पूर्वमाओवादी पृष्ठभूमिका एकमुष्ट मन्त्रीहरू बेरोजगार भएपछि रिक्त मन्त्रालयमा कसलाई भर्ने भन्ने चिन्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पिरोल्न थालेको छ ।

त्यसैले उहाँ यतिबेला मन्त्रीहरू खोज्ने धुनमा हुनुहुन्छ । यसका लागि महन्थ ठाकुरसँग कुरा गर्नुभयो । राजेन्द्र महतोसँग कुरा गर्नुभयो । ईश्वर पोखरेलसँग चाहिँ कुरा गर्नुभएन ।

“प्रधानमन्त्रीसँग चाहिँ मन्त्रालयै मन्त्रालय । बोक्नै नसक्ने गरी मन्त्रालय । उपप्रधानमन्त्रीसँग चाहिँ एउटै मन्त्रालय छैन । यस्तो पनि कहीं हुन्छ ?”

कमरेड ओलीले कहिले ठाकुरसँग कुरा गरेको,कहिले महतोसँग कुरा गरेको सबै कमरेड ईश्वर पोखरेले टुलुटुलु हेरेर बसिरहनुभएको छ । उहाँलाई शायद लाग्दो हो, प्रधानमन्त्रीज्यूले कहिलेकाहीँ त मसँग पनि कुरा गरेको भए हुन्थ्यो नि ! सरकारमा मन्त्रालयहरू टन्नै छन् तर उहाँ भने खाली ।

“अब खोसिन बाँकी त्यही दौरा सुरुवाल मात्रै हो । कमरेड पोखरेल त्यो नखोसिएसम्म चुपै लागेर बस्ने हो कि ?”

ल्हासामा सुन छ कान मेरो बुच्चै भनेजस्तो सरकारमा मन्त्रालय छ म भने रित्तै । त्यत्रो मन्त्रालयहरू छन्,एउटा त दिए हुने नि ! उपप्रधानमन्त्री बनाएको छ,मन्त्रालय भने खाली । मन्त्रालय नै नहुँदा त केही थिएन । मन्त्रालय त त्यत्रो छन् नि । तर पनि दिँदैनन् बूढाले ।

किन होला ? त्यत्रो मन्त्रालय भइकन पनि किन नदिएको होला ? प्रधानमन्त्रीसँग चाहिँ मन्त्रालयै मन्त्रालय । बोक्नै नसक्ने मन्त्रालय । उपप्रधानमन्त्रीसँग चाहिँ एउटै मन्त्रालय छैन । यस्तो पनि कहीं हुन्छ ?

बूढा मन्त्रालय बढी भएर बोक्ने मान्छे खोजिरहेका छन् । तर बोक्नलाई तयार भएर सामुन्ने उभिएका आफ्नै उपप्रधानमन्त्रीलाई भने देख्दैनन् । किन होला ? बिचरा ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसियो ।

अहिले आएर सीसीएमसीको अध्यक्ष पनि खोसियो । अब खोसिन बाँकी त्यही दौरा सुरुवाल मात्रै हो । कमरेड पोखरेल त्यो नखोसिएसम्म चुपै लागेर बस्ने हो कि ?

टिप्पणीहरू