मैले उज्ज्वल थापाको मरणबाट जे सिकेँ

मैले उज्ज्वल थापाको मरणबाट जे सिकेँ

‘समाज र राजनीतिक नेतृत्वको ठेक्का जसरी र जहिले पनि मैले नै लिनुपर्छ,नत्र त देश र समाज नै बर्बादीतिर जान्छ’ भन्ने विचारले गहिरोसँग जरा गाडेको हाम्रो देशको राजनीतिक परिवेशमा एक व्यक्तित्वले आफूलाई फरक देखाउने साहस गरे ।

राजनीतिक नेता–कार्यकर्ता उत्प्रेरक बन्न सक्छन् तर परिवर्तन र प्रगतिको ठेक्का लिन सक्दैनन्, भन्ने उनको पहिलो स्पष्ट सन्देश थियो ।

राजनीतिलाई पेशा बनाउनु नै गलत हो भन्ने मान्यता बोक्दै हिँडे । ‘कुनै कालखण्डमा नेतृत्व गर्ने अवसर मिले पनि सहज र मैत्रीपूर्ण ढंगबाट युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ’ भन्ने मान्यतामा उनको दृढ विश्वास रह्यो ।

नेतृत्वमा पुगेर फेरि कार्यकर्ताकै रूपमा पार्टीमा सक्रिय रहने निर्णय त्यसैले त गरे होलान् उनले । यसैले पनि सधैंभरिका लागि नेतृत्व कब्जा गरेर रमाइरहेका मूलधारका नेतालाई चुनौती दिन सक्षम भए उनी ।

उनको दोस्रो सन्देश थियोः राजनीतिलाई मात्र पेशा बनाएर जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता बोकेका चुनाव केन्द्रित नेताहरूको बाहुल्यता नै अहिलेको प्रगतिको बाधक हो ।

इमान्दारीलाई उच्च स्थान दिँदै समाजको अहिंसात्मक परिचालनलाई जोड दिन कहिल्यै पछाडि परेनन् । राजनीतिमा विद्यमान बिकृति र विसंगतिका जराहरू निकै तलसम्म गाडिएकै कारण त्यसविरुद्धका स्वर शायद सबै देशवासीले सुन्न पाएका थिएनन् ।

त्यसैले राजनीतिक नेतृत्व त उनले सजह छाडिदिए तर सुसंस्कृत, विवेकपूर्ण र नैतिकवान राजनीतिक धरातलको निर्माणमा योगदान पुर्याउने आफ्नो लक्ष्य पूरा गर्न भने झन् कठोर भएर लागे ।

कता–कता लाग्छ विधाताले पनि उनको कठोरता र दृढ लक्ष्य बुझेछन् । त्यसैले उनी अर्थात् उज्ज्वल थापाले आफ्ना यी दुवै सन्देश देशभरि पुर्याउन यो उमेरमै ज्यान गुमाए ।

आखिर विश्वास गर्नेका लागि कोरोना त एउटा माध्यम न हो ! यसरी व्याख्या गर्दा उनले आफ्नो ज्यान गुमाएर त्यसको माध्यमबाट अर्थात् आफू शहीद बनेर भए पनि आफ्ना राजनीतिक सन्देश देशभरि पुर्याउन खोजे ।

उनको यस्तो निर्णयले मुख्य राजनीतिक दलका नेतालाई त अझ ठूलो चुनौती दिने नै छ। नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको प्रश्नले पनि अझ पेचिलो हिसाबले समाजमा स्थान पाउनेछ।

म न स्वर्गीय थापाको पार्टीमा आबद्ध मान्छे हो,न त उनीसँग व्यक्तिगत परिचय नै थियो । तर नैतिकताको खडेरी देखिएको वर्तमान परिवेशमा स्व.थापाको चीर आत्माको शान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै उनका सन्देशलाई सात्मसात् गर्ने निर्णय गरेँ ।

-डा.नवराज रोस्यारा, जर्मनी

टिप्पणीहरू