सरकारलाई राजश्वको मात्रै चिन्ता,सिमानाबाट कोरोना ह्वार्ह्वारी

सरकारलाई राजश्वको मात्रै चिन्ता,सिमानाबाट कोरोना ह्वार्ह्वारी

-आशिका लम्साल

विराटनगर,मालवस्तु आयात निर्यात गर्ने प्रदेश १ को मुख्य नेपाल–भारत नाका विराटनगर भन्सारबाट दैनिक सैयौँ भारतीय चालक र सहचालक बिना एन्टिजेन परीक्षण नेपाल भित्रिने गरेका छन् । दोस्रो चरणमा कोरोना संक्रमणको ‘हाइरिस्क’ देखा परिरहेको भए पनि भारतीय मार्ग हुँदै विराटनगर भन्सारबाट आउने मालवाहक सवारी साधनका सयौँ चालक र सहचालक दैनिक एन्टिजेन परीक्षणबिनै नेपाल भित्रिरहे पनि रोकथाम गर्न अझैसम्म सरकारले कुनै वास्ता गरेको छैन ।

विराटनगर जोगबनी नाकास्थित संयुक्त भन्सार जाँच चौकी (आईसिपी) बाट दैनिक दुईदेखि तीन सय मालवाहक सवारीसाधन औद्योगिक कच्चा पदार्थ र तयारी वस्तु बोकेर नेपाल भित्रिने गर्छन् । भारतको कोलकाता र अन्य विभिन्न ठूला शहरबाट आएका प्रायः सबै सवारी साधन (कन्टेनर, हेभी ट्रक,लहरी) मा एक जना चालक,एक सहचालक अनिवार्य हुने गर्छन् । धेरैमा चालक र सहचालकभन्दा पनि बढी व्यक्ति हुने गर्छन् । यसरी हेर्दा विराटनगर भन्सार नाकाबाट दैनिक कम्तीमा ५ सय जना भारतीय चालक र सहचालकहरू एन्टिजेन परीक्षण विना नेपाल आउने गर्छन् ।

विराटनगर भन्सार नाकामा पहिलो चरणदेखि नै नेपाल आउने सवारी साधनलाई सामान्य सेनिटाइज मात्र गरिन्छ । चालक,सहचालक र अन्य व्यक्तिलाई साबुनपानीले हात धुन लगाई सामान्य ज्वरो नापेर मात्र छाड्ने गरिएको छ ।

दोस्रो चरणमा भारतका सबै प्रान्तमा कोरोना संक्रमण भयावह भएकाले मालवाहक सवारीमार्फत आउने चालक र सहचालकहरू पनि संक्रमित हुनसक्ने भएकाले उनीहरूलाई बिना एन्टिजेन परीक्षण नेपाल आउन दिँदा कोरोना संक्रमण बढाउन बल पुगिरहेको विराटनगर महानगरपालिकाका कोभिड संयोजक हैदर अली बताउँछन् ।

उनका अनुसार भारतबाट आउने मालवाहक सवारी चालक र सहचालकले गर्दा धेरै उद्योगमा कोरोना संक्रमण बढेको छ । ट्राभल हिस्ट्रीअनुसार सुनसरी, मोरङका औद्योगिक करिडोरमा कार्यरत मजदुर कर्मचारीमा दोस्रो चरणमा कोरोना संक्रमण फैलने कारण भारतीय चालक र सहचालकहरू पाइएका छन् । कोभिड संयोजक अलीले भने, ‘मोरङ बूढीगंगा २ मा रहेको आरती स्ट्रिप्समा काम गर्ने मजदुर कर्मचारी विराटनगरको १ देखि ४ नम्बर वडाका छन् र हाल उनीहरू सबै कोरोना संक्रमित पाइएका छन्,त्यसको कारण भारतीय नै हुन् ।’

भारततर्फ आरडिटी जाँच गरेर मात्र जाने अनुमति,शंकास्पद राख्न होल्डिङ र परीक्षण सेन्टरमा कार्यरत एजेन्टका अनुसार विराटनगर भन्सार जाँच चौकीबाट भारततर्फ जाँदा भारतीयले आरडीटी चेक गरेर मात्र जाने दिने गरेका छन् । शंकास्पदलाई थप परीक्षण गर्न फारबिसगन्ज क्षेत्रमा परीक्षण क्याम्प र होल्डिङ सेन्टर पनि बनाइएको छ । तर नेपालतर्फ भने न त होल्डिङ सेन्टर छ न एन्टिजेन परीक्षण नै गरिन्छ ।

भन्सारमा एन्टिटेन परीक्षण गराउन प्रदेश र संघीय सरकार कसैले पनि चासो देखाएका छैनन् । विराटनगर महानगरपालिका स्वास्थ्य शाखाले सिमित एन्टिजेन किट मात्र उपलब्ध हुने भएकोले यात्रु शाखाबाट आउनेहरूलाई मात्र परीक्षण गर्ने गरेको छ । कोभिड संयोजक अलीले भने,‘हामीसँग दैनिक २५ वटा जति मात्र किट उपलब्ध हुन्छ जसले यात्रुलाई नै परीक्षण गर्न पुग्दैन भन्सारका चालकलाई परीक्षण गराउन सम्भव नै हुँदैन,यसबारे प्रदेश र संघले चासो दिनुपर्छ ।’ संयोजक अलीले भारतबाट कोरोना भित्रिने मुख्य छिद्र जाँच चौकी पनि भएकाले नेपाल आउने चालक, सहचालकहरू सबैलाई एन्टिजेन परीक्षण गरी होल्डिङ सेन्टरमा राखेर मात्र नेपाल आउन दिनुपर्नेबारे सबै तहका जिम्मेवार अधिकारीहरूलाई अवलोकनसहित जानकारी गराइसकेको बताए ।

कर्मचारीले सुटुक्क खोप लगाए एजेन्टहरू अझै हिस्स

विराटनगर भन्सारमा सय जति एजेन्ट र प्रतिनिधि छन् । उनीहरू दैनिक कामकाजका लागि भन्सार आउने जाने गर्छन् । भन्सारमा ५० जना प्रतिनिधि त भारतीय नै छन् । केही भारतीय प्रतिनिधि आइसिपी मार्ग भएर दैनिक भारत आउने- जाने पनि गर्छन् । भन्सारमा झण्डै सयजति उतैका लोडर छन् । ती लोडर पनि प्रायः भारत आउने–जाने गर्छन् । यसैले पनि एजेन्ट र प्रतिनिधि झन् धेरै जोखिममा हुन्छन् ।

कोरोना संक्रमणले गर्दा विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको दोस्रो चरणमा र एक जना एजेन्ट प्रतिनिधि रमेश अग्रवालको पहिलो चरणमा निधन भैसकेको छ । हाल आधा दर्जन एजेन्ट र प्रतिनिधि संक्रमणमा छन् । भन्सारमा रोकथामको प्रभावकारी उपाय नहुँदा नियमित भन्सार आउजाउ गर्ने उद्योगका कर्मचारीमा समेत धमाधम कोरोना संक्रमण देखा पर्न थालेपछि विराटनगर भन्सारमा कार्यरत, कर्मचारी,एजेन्ट,सुरक्षाकर्मी र लोडरले पहिलो चरणदेखि नै ‘हाइरिस्कमा’ काम गर्दै आएका छन् ।

दोस्रो चरणमा भन्सार कर्मचारीले खोप लगाए पनि कार्यरत एजेन्ट र प्रतिनिधिले भने खोप लगाउन पाएका छैनन् । दोस्रो चरणमा धेरै जना एजेन्ट र प्रतिनिधि संक्रमित भइसकेका छन् । हाइरिस्कमा काम गर्नुपर्ने बाध्यताले गर्दा एजेन्ट र प्रतिनिधिलाई पनि खोप लगाउने व्यवस्था हुनुपर्ने भन्सार एजेन्ट संघका केन्द्रीय सल्लाहकार किशोर शाही बताउँछन् । भन्छन्, ‘भन्सारमा काम गर्ने सबै जना इमिग्रेसनका फ्रन्टलाइनर हुन्, सतर्कताले मात्र ‘हाइरिस्क’ बाट जोगिन सकिँदैन,यसैले सरकारले चाँडै खोपको व्यवस्था गरिदिनुपर्छ ।’

पहिलो चरणमा विराटनगर १० बस्दै आएका ६३ वर्षीय भन्सार एजेन्ट प्रतिनिधि रमेश अग्रवालको कोरोना संक्रमणले गर्दा २३ साउन २०७७ मा उपचारका क्रममा मृत्यु भएको थियो । हाल पनि आधा दर्जन एजेन्ट संक्रमित भइसकेका छन् ।

सुरक्षाकर्मी,कर्मचारी र मजदुर पनि थ्रेटमा

विराटनगर भन्सारमा ८० जना कर्मचारी कार्यरत छन् । नेपाल प्रहरी र भन्सार राजस्व गस्ती टोलीको गरेर ५० जना प्रहरी सधैं सक्रिय हुन्छन् । यस्तै,भन्सार बन्दरगाहको गोदाम ठेक्का लिने ट्रान्स नेपाल कम्पनीका सुरक्षागार्ड र कर्मचारी ९० जना छन् । भन्सारमा वाणिज्य बैंक उपशाखा,खाद्य र पशु क्वारेन्टाइन शाखाका कर्मचारीसमेत गर्दा पाँच सय जना दैनिक सक्रिय रुपले खटिरहेका हुन्छन् ।

विराटनगर भन्सार प्रमुख शिवराम भण्डारी देशभरिका भन्सारमा काम गर्नेहरू कोरोना संक्रमणको ‘हाइरिस्क’ मा रहेको बताउँछन् । उनले सबैले उच्च सुरक्षा सतर्कता अपनाएर काम गर्ने गराउने गरिरहे पनि संक्रमणबाट जोगिन गाह्रो भैरहेको बताए । भने, ‘आत्तिहाल्नुपर्ने अवस्था त छैन तर पछिल्लो समय आउजाउ गर्ने व्यक्ति संक्रमित भएकाले कर्मचारीलाई खोप लगाउने क्वारेन्टाइन बस्ने र पिसीआर परीक्षण गराउने काम महानगरपालिका र प्रदेश सरकारसँग समन्वय गरेर भइरहेको छ ।’

विराटनगर भन्सारका सूचना अधिकारी सन्तोष यादवका अनुसार पहिलो चरणमा १३ जना भन्सार कर्मचारी कोरोना संक्रमित भएका थिए । दोस्रो चरणमा पनि ४ जना संक्रमित भइसकेका छन् ।

टिप्पणीहरू