बालिकालाई यौन दुव्र्यवहार गर्नेको बिगबिगी, ६७ वर्षे पुरुष पक्राउ

बालिकालाई यौन दुव्र्यवहार गर्नेको बिगबिगी, ६७ वर्षे पुरुष पक्राउ

यौन दुव्र्यवहार गरेको अभियोगमा दुई वृद्धसहित चार जना पक्राउ परेका छन् । ललितपुर, सुनसरी, काठमाडौं र भक्तपुरमा यौन दुव्र्यवहार गरेको अभियोगमा सप्तरी शम्भुनाथ नगरपालिका–२ का राम आशिस सदा, इटहरी उपमहानगरपालिका–३ सुनौलो टोलका भविराज दमाई, गोरखा घर भएका एक पुरुष र सूर्यविनायक नगरपालिका–७ गुण्डुका हरिकृष्ण कोजु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार ललितपुरमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–३ मोतिचौर बस्ने २० वर्षीय सदालाई पक्राउ गरिएको हो । उनले स्थानीय मोतिचौरको निर्माणाधीन होटेल भवनभित्र आइतबार साँझ बालिकालाई जबरजस्ती करणी गरेका थिए ।

त्यस्तै, सुनसरीमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इटहरी उपमहानगरपालिका–३ सुनौलो टोलका ६७ वर्षीय भविराज दमाई मंगलबार प्रहरीको फन्दामा परेका छन् । उनले बालिकालाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

काठमाडौंमा आफ्नै १४ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा बालिकाकी बुबा पक्राउ परेका छन् । डल्लु बस्दै आएका गोरखाका ३८ वर्षीय पुरुषलाई मंगलबार राति उक्त अभियोगमा प्रहरीले पक्राउ गरेको हो । उनले छोरीलाई डरत्रास तथा धाकधम्की दिएर यौन दुव्र्यवहार गरेको बताइएको छ ।

त्यस्तै, भक्तपुरमा १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ५० वर्षीय कोजु पक्राउ परेका छन् ।

टिप्पणीहरू