एमालेकाे सोमबार रातीको भेट, छलफल गर्दागर्दै लेट

एमालेकाे सोमबार रातीको भेट, छलफल गर्दागर्दै लेट

पार्टी एकता जोगाउने भन्दै सोमबार राती दरबारमार्गको एउटा पाँच तारे होटलमा दोस्रो पुस्ताका नेताहरुको झण्डै दुई घण्टा छलफल भयो । ‘एकताको प्रयास टुट्न नदिऔं’ भन्ने मूल प्रयासमा उक्त भेटघाट भएको सहभागी एक जना नेताले बताउनुभएको छ ।

छलफलमा बालुवाटारको तर्फबाट नेताहरु सुवास नेम्वाङ,विष्णु पौडेल र प्रदीप ज्ञवाली हुनुहुन्थ्यो भने अर्कोतर्फबाट सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,गोकर्ण बिष्ट र योगेश भट्टराई जानुभएको थियो । ‘बालुवाटारका साथीहरुको कुरो सुन्दा र लवज बुझ्दा पहिलेभन्दा साँच्चै मिल्न पो खोजेका हुन् कि भन्ने देखिन्थ्यो,’ भेटघाटमा सहभागी नेताको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘कर्णाली, लुम्बिनी,बागमती प्रदेश र पत्रकार महासंघको चुनाव,धारा ७६ (५) को निम्ति शेरबहादुर देउवालाई अघि सारेको विषय र त्यसपछि सर्वोच्चमा मुद्दा हालेको कारणले पनि उहाँहरु लचिलो हुन बाध्य हुनुभएको हुनसक्छ ।’

“उहाँहरुले एकपटक ‘ओलीजी संसद विघटन गर्न चाहनुहुन्नथ्यो तर परिस्थिति त्यसैगरी विकास भयो’ भनेर आफ्नो बचाव गर्नुभएको थियो ।”

बालुवाटारको प्रतिनिधित्व गर्दै सहभागी हुने नेताहरुले ठ्याक्कै छिनालेर कहिल्यै कुरा नगर्ने अर्को पक्षका नेताहरुको बुझाई छ । ‘उहाँहरु जहिले पनि आफूहरुले समेत बालुवाटारमा अनुरोध गर्नुपर्ने शैलीमा प्रस्तुत हुँदै ओलीजीका इच्छा यस्ता छन् भनेर कुरा शुरु गर्नुहुन्छ,’छलफलमा सहभागी अर्का नेताले गर्नुभएको टिप्पणी हो यो ।

युवा नेताहरु २०७५ जेठ २ गतेको अवस्थामा आउनुपर्ने पुरानै अडानमा अस्ति पनि प्रस्तुत हुनुभएको थियो । त्यसमा पनि नेम्वाङ समूहले हुन्छ,मान्छौं भन्दै अमूर्त कुरा गरेको बिष्टको बुझाइ छ । नेम्वाङ,पौडेल र ज्ञवालीले एकै स्वरमा उक्त विषयमा ‘अँ त्यहि जेठ २ गतेको वरिपरि हो’ भन्नु भएको तर, ठ्याक्कै यहि हो भनेर उल्लेख नगरेको स्रोतको दाबी छ ।

छलफलमा अदालतमा परेका मुद्दा र प्रतिनिधिसभा पुनर्स्थापनाको बारेमा भने बालुवाटारको तर्फबाट केही पनि उच्चारण नगरिएको बुझिएको छ । बरु उहाँहरुले एकपटक ‘ओलीजी संसद विघटन गर्न चाहनुहुन्नथ्यो तर परिस्थिति त्यसैगरी विकास भयो’ भनेर आफ्नो बचाव गर्नुभएको थियो ।

बिष्ट र भट्टराईले एकता सँधै सम्मानजनक हुनुपर्यो भन्दै आउनुभएको बताइन्छ । त्यहि क्रममा अस्ति २ घण्टाजति छलफल भएको हो । ८ बजेदेखि याक एण्ड यती होटलमा दुई पक्ष डेढ घण्टा बसेर छलफल गरेपनि ११ बजेसम्म नेपाल पक्षका युवाहरू मात्रै छुट्टै बसेको र खाना चाँहि घरमै गएर खाएको बताइन्छ ।

टिप्पणीहरू