नेपालीको लाशमाथि नेताको निर्लज्ज भोजन

नेपालीको लाशमाथि नेताको निर्लज्ज भोजन

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष देवीलाल भण्डारीमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । सडक दुर्घटनामा परी मृत्यु भएका नेपालीहरुको उध्दार गर्ने नाममा भण्डारीले बीमाबाट प्राप्त रकम घोटाला गर्ने गरेको नेपालस्थित मृतकका परिवारको गुनासो छ ।

भण्डारीले सन २०१७ जुलाई २३ तारिखका दिन जापानको गुन्मा केन ओइजुमीमाची साकाता भन्ने ठाउँमा गाडीको ठक्करबाट मृत्यु भएका नवलपरासीका हृदयेश जिसीको बीमा रकममाथि घोटाला गरेको परिवारका सदस्यहरुले बताएका छन् । तत्कालीन एनआरएनएका बरिष्ठ उपाध्यक्ष र हालका अध्यक्ष भण्डारीलाई बीमा कम्पनीबाट रकम असुल गर्न र शव नेपाल ल्याउनका लागि जिसी परिवारले विश्वास गरेर मन्जुरीनामा दिएको थियो । त्यसैका आधारमा रकम निकालेर आफूखुशी गरेको भण्डारीमाथि आरोप लागेको हो ।

भण्डारीले बीमा (जिबाईसेकी होकेन ) बाट आफ्नो खातामा चार हजार २१४ मान यन अर्थात् नेपाली रु.करिब चार करोड ३८ लाख लिएको स्वीकार गरेका छन् । जापानस्थित एक नेपालीबाट त्यसको अडियो क्लिप जनआस्थालाई प्राप्त भएको छ । त्यसलाई पुष्टि गर्दै मृतकका दाइ मोहनले पनि भण्डारीसँग फोनमा कुरा हुँदा सोही रकम आउने जानकारी पाएको बताए ।

चार करोड ३८ लाख खातामा आएको बताएका भण्डारीले पीडित परिवारलाई जम्मा एक करोड ८४ लाख ६१ हजार २८९ मात्र दिएपछि घटना बाहिरिएको हो । त्यसमध्ये पनि उनले १३ लाख रुपैयाँ हाकाहाकी मागेरै लिएको मोहनले बताए । भण्डारी नेपाल आउँदा आफ्नो घरमै आएर केश मिलाउँदा धेरै खर्च भयो भन्दै रकम मागेपछि आफूहरुले विश्वास गरेर दिएको उनले बताए ।

‘बीमा रकमबाट आएको एक करोड ८४ लाख ६१ हजार दुई सय ८९ उहाँ (भण्डारी)ले बुवा कुलबहादुर घर्तिको राष्ट्रिय बाणिज्य बैंकमा ट्रान्सफर गरिदिनुभएको हो । त्यसको बैंक स्टेटमेन्ट मैसँग छ । पछि उहाँले यताउता जाँदा मेरो खर्च भएको छ भनेर १३ लाख लैजानुभयो’, जिसीले भने ।

भण्डारीले बाँकी पैसा दोश्रो चरणमा आउँछ भनेपछि आफूहरुले विश्वास गरेको तर भण्डारी तर्किन थालेपछि खोजीनीति गरेको मोहनले बताए । अहिले पीडित परिवार न्याय खोज्दै हिंडेको छ । बीमाबाट के कति रकम आएको हो,शव नेपालसम्म ल्याउँदा कति खर्च लाग्यो र वकिल खर्च कति भयो भन्ने सामान्य हिसाब आफूहरुले खोजेको पीडित परिवार बताउँछ । तर,भण्डारीले हिसाब देखाउन आनाकानी गरेपछि शंका लागेको उनीहरुको भनाइ छ । मोहनका अनुसार भण्डारीले घटना बाहिर आए आफ्नो २० वर्षको करिअर ध्वस्त हुने भएकाले चुप बसिदिन मृतकका बाबुलाई आग्रह गरेका छन् ।

यता,भण्डारीले भने आफूले बीमा रकममा कुनै हिनामिना नगरेको दाबी गरेका छन् । उनले बीमा रकम कति आएको र मृतक परिवारले कति पाएको भन्नेबारे आफूलाई थाहा नै नभएको बताएका छन् । उनले केशमा आफू सम्बन्धित नै नरहेको जिकिरसमेत गरेका छन् । आफूमाथि लागेका आरोपबारे प्रस्टिकरण दिन आइतवार टोकियोमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले प्रमाण दिन नसकेपछि भागेको एक नेपालीले बताए ।

यसअघि भण्डारीको बैंक खातामा के कति जम्मा भएको हो त्यसको बास्तविक सत्यतथ्य बुझ्न भन्दै पीडित परिवारले एनआरएन जापानको छानविन समितिमा निवेदन दिएको थियो । समितिले आर्थिक घोटालाको आरोप लागेकोले भण्डारीलाई एनआरएनए जापानको अध्यक्ष पदबाट राजिनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ । समितिले आउँदो साता पत्रकार सम्मेलन गरेर हालसम्मको विवरण सार्वजनिक गर्ने जनाएको छ ।

मृतकका दाजु मोहन जिसीले दिएको निवेदनका आधारमा घटनाबारे जनआस्थाले चैत ३० गते समाचार सम्प्रेषण गरेको थियो ।

टिप्पणीहरू