बुटवलमा थालियो टोल टोलमा निःशुल्क कोरोना परीक्षण

बुटवलमा थालियो टोल टोलमा निःशुल्क कोरोना परीक्षण

रुपन्देहीको बुटवलमा सोमबारदेखि टोल टोलमा कोरोना परीक्षण शुरु भएको छ । महामारीको उच्च जोखिममा रहेको रुपन्देही जिल्ला र त्यसमा पनि अझ धेरै बुटवल उपमहानगरपालिकामा टोलस्तरमा संक्रमणको व्यापक परीक्षण थालिएको हो ।

मोतिपुर, सेमलार, नयाँगाउँ र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निःशुल्क कोरोना परीक्षण थालिएको छ । सोमबार ६२ जनाको परीक्षण भएकोमा १४ जनामा संक्रमण पोजेटिभ देखिएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताउनुभयो ।

रेग्मीका अनुसार मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र कार्यालय परिसरमा एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको हो । परीक्षण उपमहानगरपालिकाका सबै वडाका टोलमा पायक मिलाएर २१ गतेसम्म गरिने छ ।

रेग्मीले स्वास्थ्यकर्मीलाई क्षेत्र तोकेर जिम्मेवारी प्रदान गरिएको बताउँदै समुदायस्तरबाटै कोरोना न्यूनीकरण गर्ने उद्देश्यले उपमहानगरपालिका लागिपरेको पनि बताउनुभयो ।

टिप्पणीहरू