चिन्हले मात्रै सबथोक निर्धारण गर्दैन चुनावमा

चिन्हले मात्रै सबथोक निर्धारण गर्दैन चुनावमा

राजनीतिक दलहरु मूलत: विचारका आधारमा एक हुन्छन् र विचारकै आधारमा विभाजित हुन्छन् । अपवादबाहेक अहिलेसम्म पार्टीहरुको एकता र विभाजनको आधार विचार,राजनीति,नेतृत्व र सांगठनिक इस्यु नै मुख्यरुपमा देखिँदै आएका छन् ।

तर,पछिल्लो समय दलहरुले पार्टी एकता र विभाजनमा चुनाव चिन्हलाई प्रधानता दिन थालेका छन् । गत निर्वाचनमा संयुक्त गठवन्धन बनाएर लडेका एमाले र माओवादीबीच चुनाव चिन्हकै कुरालाई लिएर मतभेद देखिएको थियो । सूर्यलाई प्रतिष्ठाको विषय बनाउँदा दुई पार्टी अन्ततः आ-आफ्नै चिन्हमा चुनाव लडेका थिए । पछि पार्टी एकता हुँदा पनि नेतृत्व र चुनाव चिन्हले नै बढी प्रधानता पाएको नेताहरुका अभिव्यक्तिमा देखिन्थ्यो ।

पछिल्लो समय नेकपा हुँदै एमालेसम्मको विभाजनमा पनि चुनाव चिन्हको बहस अझै गर्माएको छ । कम्युनिष्ट पार्टीहरु बिचार मिल्दा एकैठाउँ रहने र बिचार फरक हुँदा विभाजित हुने अभ्यास आमरुपमा देखिँदै आएको हो । तर,दलहरुले विचार राजनीतिलाई भन्दा अमूक प्राविधिक कुरालाई प्राथमिकतामा राख्दा राजनीति नै विकृत र प्रदुषित बनेको टिप्पणी हुने गरेको छ ।

“एमालेले १०० ठाउँमा उम्मेदवारी दिँदा झण्डै ८० सीट जित निकाल्न सकेको हो । समानुपातिकतर्फ झण्डै एमालेकै हाराहारीमा मत ल्याएको काँग्रेसले १६५ ठाउँमा उम्मेदवारी दिँदा पनि जम्मा २६ सीटमा खुम्चिनुपर्यो ।”

चुनाव चिन्ह केही हो,तर सबैथोक होइन भन्ने पछिल्ला दुई उदाहरण काफी छन् । राष्ट्रियसभाको उपनिर्वाचनमा दुई हप्तावीच सूर्य चिन्हधारी दुई उम्मेदवार पराजित हुनुले चिन्हमाथिको अतिरन्जित प्रचारलाई खण्डित गरिदिएको छ । प्रचार यसरी गरिएको थियो कि, दल,बिचार,राष्ट्रिय राजनीति, उम्मेदवार सबै सहायक हुन्, जीतको प्रमुख निर्धारक सूर्य चिन्ह मात्रै हो ।

चुनाव चिन्हको आफ्नो महत्व पक्कै पनि छ । यसले राजनीतिक दललाई पहिचान मात्र दिएको हुँदैन इतिहास पनि बोकेको हुन्छ । तर,चिन्ह हेरेरै जनताले भोट हाल्ने होइन भन्ने अर्को एउटा दृष्टान्त पनि छ । २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा (माओवादी) ले २४० को ठ्याक्कै आधा १२० सीट जित्यो । भर्खरै खुला राजनीतिमा आएर पहिलो पटक चुनावमा गएको माओवादीको चुनाव चिन्ह उसका कार्यकर्तालाई पनि सायद राम्रोसँग याद थिएन ।

“गगन थापाले आगामी चुनावमा सम्भावित गठवन्धनलाई लिएर भन्नुभएको छ,’१६५ ठाउँमा उम्मेदवारी दिएर २६ सीट जित्नुभन्दा १०० ठाउँमा उम्मेदवारी दिएर ८० सीट किन नलिने!’

तर,स्थापित चिन्ह लिएर चुनाव लडेका काँग्रेस र एमाले माओवादीसामू निरिह देखिए । त्यहि चुनाव चिन्ह लिएर चुनाव लडेको माओवादी ६ वर्षपछिको दोस्रो संविधानसभा निर्वाचनमा भने नराम्रोसँग पछारियो । २३ बर्षअगाडि ०५४ सालमा तारा चिन्ह लिएर लडेको मालेले त्यतिबेलाको सापेक्षतामा ६ लाख मत पाउनु चानचुने कुरा थिएन । समानुपातिक सीट नहुनाले वामदेव,साहनाहरुको त्यसबेला प्रतिनिधिसभामा प्रवेश हुन नसक्नु छुट्टै कुरा । बिचार र राजनीतिसँगै चुनाव हार-जीतको अर्को कारक राष्ट्रिय राजनीति पनि हो ।

पछिल्लो कालखण्डमा दलहरुले खेलिरहेको भूमिकाले चुनावी नतिजालाई सबैभन्दा धेरै प्रभाव पारेको हुन्छ । जस्तो,सूर्य चिन्हबाट एमालेले माओवादी र आफ्नोसमेत मिक्स हेभिवेट उम्मेदवार तथा बहालवाला गृहमन्त्री रामबहादुर थापा “बादल”लाई उठाउँदा पनि कलम चिन्हका स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटाले जित्नुको पछाडि राष्ट्रिय राजनीतिको प्रभाव नै हो । दलहरुबीच गठवन्धनको कारक राष्ट्रिय राजनीति बन्न गएको हो ।

गत चुनावमा काँग्रेसको पराजय मतदाताले उसको चिन्ह नचिनेकाले होइन । सूर्य ०४८ को चिन्ह हो भने रुख त ०१५ सालदेखिकै रैथाने हो । यता एमालेसँग सूर्य चिन्ह भएकै कारण उसले धेरै सिट जितेको पनि मान्न सकिंदैन । समानुपातिकतर्फ दुवै पार्टीले पाएको मत हेर्दा आफैँ छर्लंग हुन्छ ।

वाम गठवन्धनले सृजना गरेको चुनावी माहोलको परिणाम एमालेले १०० ठाउँमा उम्मेदवारी दिँदा झण्डै ८० सीट जित निकाल्न सकेको हो । समानुपातिकतर्फ झण्डै एमालेकै हाराहारीमा मत ल्याएको काँग्रेसले १६५ ठाउँमा उम्मेदवारी दिँदा पनि जम्मा २६ सीटमा खुम्चिनुपर्यो ।

त्यहि भएर होला काँग्रेस युवा नेता गगन थापाले आगामी चुनावमा सम्भावित गठवन्धनलाई लिएर भन्नुभएको छ,’१६५ ठाउँमा उम्मेदवारी दिएर २६ सीट जित्नुभन्दा १०० ठाउँमा उम्मेदवारी दिएर ८० सीट किन नलिने!’ थापाको भनाइले विपक्षी गठवन्धनका पाँच दलबीच आगामी चुनावसम्मै सहकार्यको संकेत गर्छ ।

यता,एमालेको ओली पक्षले भने सूर्य चिन्ह आफूहरुसँग भएकाले चुनाव जित्ने खुला दाबी गर्दै आएको छ । पार्टीको विवादमा माधव नेपाल पक्षलाई आउट गरेर पनि चुनाव जित्ने उसको ‘दृढ बिश्वास’ को शक्ति चुनाव चिन्हलाई नै देखाइएको छ ।

यहाँनेर स्मरणीय कुरा के छ भने, भारतमा भएको पछिल्लो निर्वाचनमा सत्तारुढ भाजपाले अधिकांश ठाउँमा जीत हासिल गर्यो । तर,आमजनमत हेर्दा काँग्रेस आई र भाजपाबीच जम्मा १ प्रतिशतको फरक देखिन्छ । पहिलो हुने चुनिने निर्वाचन प्रणालीमा एक मत मात्र बढी ल्याए पनि त्यहि उम्मेदवार विजयी हुन्छ । त्यस्तो अवस्थामा सीट कम देखिए पनि जनमतका हिसाबले ठूलो प्रभाव परेको मानिंदैन । त्यस्तो जनमत अर्को पटक फरक रुपमा पनि प्रकट हुनसक्छ ।

पछिल्लो राजनीतिक ध्रुवीकरण चुनावसम्मै कायम रहे ०७४ सालमा रुख चिन्ह छाँयामा परेजस्तै आगामी चुनावमा सूर्य चिन्ह छाँयामा पर्न सक्छ । पत्रकार महासंघको चुनाव हुँदै राष्ट्रियसभाका दुई उपनिर्वाचनले चुनाव चिन्हको भद्दा प्रचारलाई आंशिक खण्डन त गरि नै सकेको छ ।

टिप्पणीहरू