राेल्पा पुगेर स्वास्थ्यमन्त्री श्रेष्ठले भने, “जसरी हुन्छ मान्छे बचाऊँ “

राेल्पा पुगेर स्वास्थ्यमन्त्री श्रेष्ठले भने, “जसरी हुन्छ मान्छे बचाऊँ “

-नरेश के सी

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ राेल्पा जिल्ला अस्पतालकाे निरिक्षणकाे लागि लिवाङ पुगेका छन् । उनले त्यहाँ पुगेर भने,”यतिबेला जसरी हुन्छ मान्छे बचाउन लाग्नुपर्छ । “

सोमबार दाङमा सम्पन्न राष्ट्रिय सभाको चुनावमा मतदान गरेपश्चात् लिवाङ्ग पुगेर उनले रोल्पा अस्पतालको अनुगमन गरेका हुन् । श्रेष्ठ अस्पताल अनुमान गरेलगत्तै जिल्ला प्रशासन कार्यालयमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सर्वपक्षीय विशेष बैठकमा समेत सहभागी भएका छन् ।

बैठकमा मन्त्री श्रेष्ठले अहिलेलाई स्वास्थ्य सामाग्री सहज भएको बताउँदै मन,वचन र कर्मले जनताको सेवामा खट्न सबैलाई अनुरोध गरे । उनले अस्ति मात्रै संघीय सरकारले बजेट प्रस्तुत गरेकोमा अहिलेसम्मकै ठूलो बजेट स्वास्थ्य क्षेत्रमा आएको बताए । उनले प्रदेश सरकारले पनि स्वास्थ्य क्षेत्रमा बजेट बृध्दि गर्ने संकेत गरे । मन्त्री श्रेष्ठले भने-स्वास्थ्य संकट नियन्त्रण गर्न,अस्पताल व्यवस्थापन गर्न सरकारले पठाएको बजेट परिचालन गर्नुहोस् ।’

उनले थपे ‘सर्वपक्षीय सहकार्य, सहयोग र साथले मात्रै कोरोना महामारीको युद्धमा विजय प्राप्त हुनेछ । त्यसैले सबै मिलेर यो महामारीविरुद्ध लागौं । अहिले जसरी हुन्छ मान्छे बचाउँ । ’ उनले कोभिडको यो महामारीमा पहिलो पंक्तिमा रहेर सेवा गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरे ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले विशेषगरी रोल्पा जिल्लाको वर्तमान कोरोना विशेष स्वास्थ्य अवस्था,कोरोना नियन्त्रणमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयमा चालिएका गतिविधिबारे जानकारी दिदै रोल्पा अस्पताललाई कम्तीमा १० वटा एचडियु बेड थप्न अनुरोध गरे ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाशबहादुर बुढाले अस्पतालले प्रदान गरेका कोरोना विशेष स्वास्थ्य सेवाबारे जानकारी दिए । उनले अस्पतालमा अहिलेलाई कोरोना विशेष कुनै पनि स्वास्थ्य सामाग्रीको अभाव नभएको बताए । अस्पतालकी नर्सिङ इन्चार्ज मीना कुँवरले महामारीमा अग्रपंक्तिमा खट्ने चिकित्सक तथा कर्मचारीले जोखिम भत्ता नपाएको बताउँदै थपिन्- लिवाङ क्षेत्रमा टेलिफोन नेटवर्कको समस्या छ ।

प्रादेशिक जनस्वास्थ्य निर्देशक रोशनलाल चौधरीले प्रदेश सरकारअन्तर्गत रहेको रोल्पा अस्पताल सुदृढीकरण तथा जनताको स्वास्थ्य उपचारार्थ सहयोग गर्न सबैलाई अनुरोध गरे ।

जिल्ला समन्वय समिति प्रमुख तीर्थराज खनाल,रोल्पा नगरपालिका प्रमुख पूर्ण केसी लगायतले आ-आफ्नो निकायबाट कोरोना नियन्त्रणमा चालिएका गतिविधि जानकारी गराउँदै जनताको स्वास्थ्य उपचारमा निरन्तर खट्ने प्रतिबद्धता व्यक्त गरे । प्रहरी,सशस्त्र तथा सेनाका प्रतिनिधिले निषेधाज्ञा व्यवस्थापन र जनताको सुरक्षाको बारेमा जानकारी गराए ।

टिप्पणीहरू