बजेट : साना थोरैमा फुरुङ्ग, कोही भन्छन् ‘यो वर्षको पनि कर्मकाण्डी’

बजेट : साना थोरैमा फुरुङ्ग, कोही भन्छन् ‘यो वर्षको पनि कर्मकाण्डी’

नयाँ बजेटमा साना तथा मझौला उद्योगलाई सहुलियत कर्जा उपलब्ध गराउने भनिएकोमा साना तथा मझौला उद्योगका व्यवसायीहरु फुरुङ्ग भएका छन् । बजेटमा साना तथा मझौला व्यवसायीहरुलाई १३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

यसअघिको सहुलियत कर्जाको दायरा फराकिलो बनाउँदै व्यवसाय निरन्तरताको निम्ति कर्जा कार्यक्रमलाई समेत निरन्तरता दिएको र आफ्ना मागलाई सम्बोधन गरेकाले साना तथा मझौला व्यवसायी महासंघ नेपालले बजेट निजी मैत्री भएको बताएको थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष इनु पौडेलले बजेट निजी क्षेत्र मैत्री भएको बताउँदै साना तथा मझौला उद्यमीहरुका लागि बिना धितो २५ लाखसम्म कर्जा दिने अघिल्लो वर्षदेखिको कार्यक्रमलाई निरन्तरता दिनु नै स्वागतयोग्य भएको बताउनुभएको छ ।

युवा उद्यमीलाई कर्जा दिनु,नव उद्यमीलाई वित्तीय सघाउ पुर्याउन १ अर्ब रुपैयाँँको च्यालेन्ज फण्ड स्थापना गर्नु बजेटको राम्रो पक्ष रहेको समेत उहाँले उल्लेख गर्नुभयो । स्टार्टअप बिजनेशका लागि परियोजना धितो राखी १ प्रतिशत व्याजमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने कार्यक्रम पनि स्वागतयोग्य भएको पौडेलको दाबी छ ।

यस्तै,होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह मान्यता दिनु सकारात्मक भएको बताउनुभएको छ । उहाँले अहिलेको महामारीमा होटल व्यवसाय अत्याधिक मारमा परेको र अप्ठेरो अवस्थामा रहेको बेला यस क्षेत्रको केही कुरा बजेटले सम्बोधन गरेको बताउनुभयो ।

उहाँले व्यवसाय कोषलाई निरन्तरता दिने,करको दर घटाउने तथा सरकारी कर्मचारीलाई १० दिनको पर्यटन काजले पर्यटन क्षेत्रको विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

उता,नाडा अटोमोबाइल्स् एशोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण दुलालले पनि बजेटको खुलेर स्वागत गर्नुभएको छ । उहाँले विद्युतीय सवारी साधनको कर हटाउने,पुनर्कर्जा दिनेलगायतको कामबाट सरकार सकारात्मक रहेको बताउनुभएको हो ।

तर,खाद्यका लागि कृषि अभियानका संयोजक उध्दव अधिकारीले भने यस वर्षको बजेट पनि अघिल्ला वर्षहरुको झैँ कर्मकाण्डी भएको बताउनुभएको छ । विगतमा कागजमै पूरा गरिसकिएका नीति,कार्यक्रम दोहोर्याएर झुठको पुलिन्दाको रुपमा बजेट आएको उहाँले बताउनुभयो । कृषिको आधुनिकीकरण,यान्त्रिकरण, व्यवसायीकरण र औद्योगिकीकरणको विषयमा अझ स्पष्ट नीति आउन नसकेको उहाँको आरोप छ ।

टिप्पणीहरू