नाम शुभ,काम अशुभ

नाम शुभ,काम अशुभ

ललितपुरको सानेपा र लामाटारस्थित चर्चित तर महँगो शुभतारा विद्यालय बन्द हुने भएको छ । बिहीबार मध्यरात अभिभावकहरूलाई पठाइएको इमेल र म्यासेजमा आगामी दुई वर्षका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएकाले बालबालिकालाई अन्य विद्यालयमा भर्ना गर्न आग्रह गरिएको छ ।

कक्षा ९ र १० का विद्यार्थीको हकमा शुभताराको व्यवस्थापनले अर्को वैकल्पिक विद्यालयको समेत व्यवस्था गरिदिएको बताइएको छ ।

तर,मध्यमहामारी र निषेधाज्ञाको साथै कतिपय अभिभावकको घर परिवारमा परेको शोकमा विद्यालयले गरेको एकाएक निर्णयले पीडा थपेको कतिपय अभिभावकले बताएका छन् । यसबाट विद्यालयमा दशकौंदेखि कार्यरत शिक्षक,कर्मचारीलगायत अन्य धेरैको रोजीरोटी खोसिएको छ ।

तर,तीन दर्जन शिक्षक शिक्षिकाले विद्यालय व्यवस्थापनलाई ‘कोभिड १९ को विषम परिस्थितिबाट गुज्रने क्रममा कतिपय हामी संक्रमित बनेका छौं भने कतिपय शिक्षक तथा कर्मचारी र अभिभावक आफन्त गुमाउनु पर्दा पीडामा हुनुहुन्छ । यस्तो संवेदनशील अवस्थामा विद्यालयबाट कानुनी प्रक्रियासमेत पूरा नगरी एकलौटी ढङ्गले गरिएको विद्यालय बन्दको निर्णयले सबैलाई मर्माहत तुल्याएको’ लिखित जानकारी गराएका छन् ।

विद्यालयले भने अभिभावकहरूले तोकिएको शुल्क तोकिएको समयमा नतिरेका कारण आर्थिक संकटलाई अघि सारेर बन्द गर्नुपरेको तर्क दिएको छ । अभिभावकहरूले भने पछिल्लो एक वर्षमा पनि आफूहरूले शुल्क नियमित बुझाएको बताएका छन् । कक्षा १० मा अध्ययनरत एक जना विद्यार्थीका अभिभावकले भनेका छन् ‘स्कुलको तर्कमा कुनै दम छैन । महँगो हुँदै गएको काठमाडौं उपत्यकाका जग्गा र सुविधासम्पन्न हातामा व्यवस्थापनले नयाँ व्यवसाय गर्ने सोच राखेर विद्यालय बन्द गर्ने निर्णय गरेको सुईंको पाएका छौं ।’

यता,अभिभावकहरूले लेखेको पत्रमा पनि एक्कासी मध्यरात विद्यालय बन्द हुने सूचनासहित आएको इमेल र म्यासेजले आफ्ना बालबालिकाको भविश्यमाथि खेलबाड गरिएको बताएका छन् । महामारीमा गरिएको निर्णय गलत भएको भन्दै उनीहरूले यथाशीघ्र विद्यालय सञ्चालनको व्यवस्था मिलाई घटनाको जाँचबुझ गरी प्रतिवेदन सार्वजनिक गर्नसमेत सम्बध्द निकायको ध्यानाकर्षण गराएका छन् ।

३३ वर्षदेखि सञ्चालित शुभतारा स्कूल बन्द भएमा उसको लामाटार र सानेपास्थित अरबौंको जायजेथा अन्य व्यवसायमा प्रयोग गर्न सकिने देखिएको छ । तर, आवश्यक सल्लाह र कानुनी प्रक्रिया पूरा नगरी विद्यालय बन्द गर्ने निर्णयले थप समस्या अवश्य उत्पन्न गराउने निश्चित छ ।

स्रोतका अनुसार विद्यार्थीको निम्ति वैकल्पिक व्यवस्था नगरी एकोहोरो विद्यालय बन्दको निर्णय गर्न पाइन्न । त्यसैगरी,कार्यरत शिक्षक,कर्मचारी र अन्य सहयोगीको प्रचलित नियमानुसारको सुविधा र अवकाश रकम प्रदान नगरी विद्यालय व्यवस्थापनले बन्दको सूचना जारी गरेर उम्कन नमिल्ने शिक्षाविद्हरू बताउँछन् ।

उनीहरुका अनुसार आवश्यकतानुसार विद्यालयको अचल सम्पत्ति बेचेर भएपनि शिक्षक र कर्मचारीलाई उपदान र विशेष रकम भुक्तानी दिनुको विकल्प छैन ।

टिप्पणीहरू