औषधी कालोबजारी पक्राउ

औषधी कालोबजारी पक्राउ

मोरङमा औषधी कालोबजारी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । घरमा विभिन्न औषधी तथा औषधीका खोलहरू राखेर कालोबजारी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक स्थानीय ३५ वर्षीय रविकुमार रजक हुन् ।

उनको घर तलासी गर्दा फिजिसियन स्याम्पल,मुटु सम्बन्धी,पेनकिलर, एन्टिबायोटिक,इन्जेक्सन, बालबच्चाको औषधी र सेनीटाइजरलगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेबलिङ गरेको औषधीका खोलहरु भण्डारण गरी राखेको अवस्थामा फेला परेका थिए ।

रजकलाई कालोबजारी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीमाथि कालोबजारी र केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू