भाषण बजेटको,काम न्वारनको

भाषण बजेटको,काम न्वारनको

-कमल भट्टराई

ताप्लेजुङ, नेपालको गणतान्त्रिक सरकारले विभिन्न कानुनी विवाद रहँदा रहँदै २०७८/०७९ को पूर्ण वार्षिक बजेट सार्वजनिक गरेको छ । झट्ट हेर्दा र सुन्दा मनमोहन र भरतमोहन अधिकारीको बाटो पछ्याउन खोजेको भनेर बजेटका अनुयायीहरु भनिरहेका छन् । सत्ता पक्षको दावी यही छ भने कतिपय जनमानसमा पनि यही भान परेको देखिएको छ ।

विश्लेषक र विपक्षीहरु घाटा बजेट,ऋणको बोझ,अनुत्पादक क्षेत्रमा लगानी,कार्यकर्ता खुशी पार्ने अस्त्र भनेर विभिन्न सामाजिक सञ्जालहरुबाट आफ्नो विचार व्यक्त गरिरहेका छन् । कतिपयले त चुनावी नारा हो भन्नसम्म भ्याएका छन् । शैक्षिक क्षेत्र भने राष्ट्रसेवकको जस्तो सुविधा नदिएकोमा असन्तुष्टि व्यक्त गरिरहेको छ ।

ताप्लेजुङमा बजेटले भन्दा पनि अहिले न्वारानले बढी चर्चा पाएको छ । २०२८ तिर निर्माण शुरु भएको सुकेटार विमानस्थल पटक पटकको मर्मत,हिउँदमा हुस्सु र वर्षामा हिलो अनि कुहिरोको समस्याबीच वर्षको ४,५ महिना चल्ने अवस्थाबाट बल्ल कालोपत्रे भएको छ,यसको लम्बाईमा समेत सुधार गरिँदै छ ।नेपालका पर्यटन मन्त्री रविन्द्र अधिकारी तेह्रथुम आठराईको चुहानडाँडामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न आएको बेला नजिकै पाथीभरा मन्दिर जानुभएको थियो । त्यही समय हिमपातसंगै हावाहुरी हुँदा हेलिकोप्टर दुर्घटना भई उहाँ लगायत हेलिकोप्टरमा सवार सबैको पाथीभरा क्षेत्रमै देहान्त भयो ।

नेपाल सरकारको आ.व. २०७८/०७९ को बजेट प्रस्तुत गर्दै हिजो अर्थमन्त्री विष्णु पौडेलबाट उक्त विमानस्थलको नाम परिवर्तन गरी रविन्द्र अधिकारीको नाममा राखिने घोषणा भएपछि ताप्लेजुङका राजनैतिक व्यक्तित्व, नागरिकहरु,समाजसेवी, बुध्दिजीवी तथा अन्य सरोकारवालाहरुले विभिन्न सामाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन् ।

ताप्लेजुङवासीको आशय छ, रविन्द्र कास्कीका हुन् । उनको योगदान कास्कीमा र अझ देशमै बढी छ,किन उनलाई सुकेटारमा सिमित गरेर चुहानडाँडामा आङ्गछिरिङ्गको नाम घुसाउने,पोखरा एअरपोर्टछेउमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल चालु हुनै लाग्यो,त्यसलाई किन रविन्द्रको नाम नदिने ? यताका जनताको ध्यान अहिले बजेटमा भन्दा पनि सुकेटार विमानस्थलको नाम परिवर्तन भएकोमा केन्दृत छ ।

ताप्लेजुङबाट काठमाण्डौ गएर बसेकाहरुको संगठन ताप्लेजुङ सरोकार केन्द्रले समेत नाम फेर्ने कार्यको नियत खराव रहेको बताएको छ । ताप्लेजुङ एमाले जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङ,पूर्व पर्यटनमन्त्री योगेश भट्टराईलगायतले छलफल, समन्वय,जानकारी विना यसरी पुराना,ऐतिहासिक नामहरु परिवर्तन गरिनु राम्रो नभएको र यसले जनमानसमा नराम्रो सन्देश जाने भन्दै असहमति जनाएका छन् ।

टिप्पणीहरू