निर्जलाको घरमा नयाँ पार्टी र रातीको रमझम

निर्जलाको घरमा नयाँ पार्टी र रातीको रमझम

जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतो समूहका नेताहरुको जमघट ललितपुरको भैंसेपाटीस्थित नेता शरदसिंह भण्डारीकै सामुन्ने रहेको निर्जला राउतको घरमा हुने गरेको छ । राउतको घरमा ठाकुरबाहेक नियमितजसो १८-१९ जनाको भीड हुने गरेको बताइन्छ ।

प्रायः साँझ ८ बजेपछि हुने रमझममा राउतको फराकिलो पार्किङमा नेताहरु गिलास लिएर घण्टौं राजनीतिक गफमा भुल्ने गरेको छिमेकीहरु बताउँछन् । उनीहरुको भेटघाटलाई हेर्दा कोरोना महामारी र निषेधाज्ञा नै नभएको झझल्को दिएको वरपरकाले टिप्पणी गरेका छन् ।

वाइन,हार्ड ड्रिंक्स,बियर र कुखुराको छेलोखेलोमा साँझ छिप्पिँदै गएपछि नेताहरुले बनाएको राजनीतिक रणनीतिक पर्खाल बाहिरसमेत सुनिने गरेको छ ।

त्यहाँ हुने जमघटका पदेन सदस्यहरुमा भण्डारी,अनिल झालगायतका अधिकांश सांसद रहेको बताइन्छ । १२ गते साँझको पहिलो भेटघाटमा चालकसहित गरेर झण्डै दुई दर्जन मानिस थिए भने त्यसको दुई दिनपछि पनि त्यस्तै भीड देखिन्थ्यो । हिजो साँझको ग्यादरिङमा भने तुलनात्मक रुपमा कम माननीय आएका थिए ।

साँझ छिप्पिँदै गएपछि राजेन्द्र महतोले चर्कोसँग बोलेको आवाज सजिलैसँग सुनिएको स्रोतको दाबी छ । प्रायः समकालीन राजनीतिको बारेमा चर्चा हुने उक्त भेटघाटमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका पछिल्ला कदम र निर्णयको कतिपय समर्थन र कतिपय आलोचना हुने गरेको छ ।

भेलामा जसपा अध्यक्षका निजी सचिवको हवाला दिँदै आफूहरुले चार वटा मन्त्री र दुई वटा राज्यमन्त्री पाउन लागेको समेत चर्चा हुने गरेको छ । उपेन्द्र यादवसँग अब सँगै बस्न नसक्ने निश्कर्ष निकाल्दै उनीहरुले राजपा ब्युँताउनेसम्मको चर्चा गरेका छन् ।

टिप्पणीहरू