डुबेर र पुरिएर ६ बालबालिकाको ज्यान गयो

डुबेर र पुरिएर ६ बालबालिकाको ज्यान गयो

महोत्तरी, मोरङ, अछाम र बर्दियामा पानीमा डुबेर र पहिरोले पुरिँदा ६ बालबालिकाको मृत्यु भएको छ । पानीमा डुबेर र्मत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–९ का रामकरण मण्डलका छोरा १० वर्षीय आशिककुमार मण्डल र ९ वर्षीय प्रेमकुमार मण्डलको पानीको खाल्टोमा डुबेर शनिबार मृत्यु भएको छ ।

घरबाट शौच जाने क्रममा लडेर सोही ठाउँस्थित एमपिइस इँटाभट्टामा खनेको खाल्टोको पानीमा डुबेर अशक्त भएका उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुर हुँदै थप उपचारको लागि जिल्ला अस्पताल जलेश्वरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै मोरङको सुनवर्षी नगरपालिका–४ जागीटोलका बल बहादुर ताजपुरीयाकी ८ वर्षीया छोरी सन्तोषी ताजपुरियाको घर पछाडी रहेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । पानीमा डुबेर असक्त बालिकाको उपचारको क्रममा मृत्यु भएको थियो ।

उता मोरङकै रंगेली नगरपालिका–२ खोरिया टोलका जगदिस मुडियारीको १० वर्षीय छोरा धिरज मुडियारीको चेका खोलामा डुबेर हिजो मृत्यु भएको छ । बिहानदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।

त्यसैगरी अछामको साँफेबगर नगरपालिका–१४, पातलकोट शाहटोलका योगेन्द्र शाहका छोरा डेढ वर्षीय सुप्रिम शाहको आफ्नै घरको आँगनमा राखेको पानीको बाल्टीनमा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

बर्दियामा माटोको ढिस्कोले पुरिएर १० वर्षीय बालकको मृत्यु भएको छ । गुलरिया नगरपालिका–९ टपरीस्थित सडक निर्माणको निम्ति खनिएको नालीमा माथिबाट खसेको माटोले पुरिएर स्थानीय शम्शेर अलि नाउका छोरा १० वर्षीय ईसान्द अलि नाउको मृत्यु भएको छ ।

ईसान्दलगायतका बालबालिकाहरु नालीमा खलिरहेको अवस्थामा अचानक बाटो माथिको ढिस्को खसेर पुरिँदा इसान्दको मृत्यु भएको हो ।

टिप्पणीहरू